माधव पौडेल
नेपाल पत्रकार महासंघको निर्वाचनमा निर्वाचित भएका मधेश प्रदेशका नव निर्वाचित जिल्ला देखि केन्द्र सम्मका पदाधिकारीहरुलाई सम्मान गरिएको छ ।
आइतवार नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र होटल संघ नेपाल मधेश प्रदेशको संयुक्त आयोजनामा वर्दिवासको गौतम होटलमा एक कार्यक्रमको आयोजना गरि नव निर्वाचित जिल्ला कार्य समिति, प्रदेश र केन्द्रका पदाधिकारीलाई सम्मान पत्र वाट सम्मान गरीएको हो ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमको अध्यक्षतामा आयोजित कार्यक्रमा उपस्थित अतिथिहरुले पत्रकार महासंघको निर्वाचनमा तीनवटै तहमा निर्वाचित मधेश प्रदेशवाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरीएको थियो ।
सो अवसरमा अध्यक्ष हिरा गौतमले मानवअधिकार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाउन आग्रह सहित पत्रकारको दक्षता अभिवृद्धि, पत्रकारिताको विकास तथा संचार क्षेत्रलाई अझ व्यवस्थित बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उनले पत्रकार महासंघलाई कसैको झोले संगठनको रुपमा नभई आम नेपालीको साझा संगठनको रुपमा अगाडी बढाउन सुझाव समेत दिए ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य राजकरण महतो, मधेस प्रदेशका अध्यक्ष श्याम वन्जारा, महोत्तरी जिल्ला अध्यक्ष महेश कुमार दास सहित, महोत्तरीवाट विजेता आशा तोलंगे, रामनारायण महतो लगाएतलाई सम्मान गरिएको थियो ।
होटल संघ नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका संस्थापक अध्यक्ष विजय झुनझुनवालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।











