
काठमाडौँ, असार २८ । बिहीबारदेखि परेको अविरल वर्षासँगै विभिन्न जिल्लाबाट बग्ने खोलाको जलसतहले सतर्कताको स्तर नाघेको छ । बाग्लुङ, मकवानपुर, चितवन, तनहुँ र नवलपुरमा बाढीको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागलुङको म्यादीखेला मंगलघाट जलमापन केन्द्रमा जलसतहले सतर्कताको स्तर नाघेको छ । त्यहाँ पानीको बहाव बढ्दै गएकाले दिउँसो १२ बजेसम्म सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
यता मकवानपुर जिल्लाको लाल बकैया खोलामा रहेको जुरेलीबजारको जलमापन केन्द्रमा पनि सतर्कता तह पारेको र बढ्दो क्रममा रहेको छ । नदी तटीय क्षेत्र र बाढीको उच्च जोखिममा रहेका क्षेत्रमा दिउँसो १२ बजेसम्म सतर्क रहन भनिएको छ ।
यता चितवन जिल्लाको नारायणी नदी देवघाट पानी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । महाशाखाले चितवन र नवलपरासी जिल्लाका नदी किनारमा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यसैगरी तनहुँ जिल्लाको मर्स्याङ्दी खोला विमलनगर जलमापन केन्द्रमा सतर्कताको स्तर नाघेर बढ्दै गएकोले सतर्क रहन भनिएको छ । त्यस्तै नवलपुरको देउराली नवल वर्षा मापनकेन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ । उक्त क्षेत्रमा अझै वर्षा हुन सक्ने भएकाले बिनइ नदीलगायत साना नदीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । रातोपाटी