काठमाडौं, आसार १९ । झापाका विभिन्न स्थानमा सुन चोरी गरी किनबेच गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन चोरी गर्ने, चोरीको सुन बेच्न सहयोग गर्ने र चोरिएको सुन सस्तो दरमा खरिद गर्ने ६ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुन चोरीमा संलग्न रहेको आरोपमा कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मान थापा भने चोरीको सुन बेच्न सहयोग गर्ने सोही ठाउँका २७ वर्षीय कृष्ण थापा रहेका छन् ।
त्यस्तै झापाको पाथीभरा बराइली ज्वेलर्सका सञ्चालक ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली, प्रतीक्षा भेराइटी किराना पसलका सञ्चालक ४० वर्षीय सुरेशकुमार दास र गिरीबन्धु टी–इस्टेटमा काम गरी बगानकै क्वाटरमा बस्ने ५१ वर्षीय सुनिल राजवंशी छन् ।
सुस्मनले अर्जुनधारा नगरपालिका–११ बस्ने दुर्गा देवी श्रेष्ठ र उमा श्रेष्ठको घरबाट जेठ १८ गते चोरी गरेको थियो । झापाका डिएसपी कृष्णकुमार चन्दले बताए, त्यसको ३ दिनपछि जेठ २१ गते बिर्तामोड नगरपालिका–५ स्थित गंगा काफ्ले पौडेल चोरी गरेको पाइयो ।
चोरी कसुरमा पक्राउ परेकामाथि ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।









