तराईका भूभागमा तीन दिनसम्म तातो हावा चल्ने चेतावनी


काठमाडौं, जेठ ३२ ।  तराईका जिल्लामा तीन दिनसम्म तातो हावा चल्ने चेतावनी दिइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम तराई क्षेत्रमा आजदेखि अझै तीन दिनसम्म तातो हावा चल्ने जानकारी दिएको छ ।

अधिकतम तापक्रम लगातार ४० डिग्री सेल्सियसभन्दा माथि रहेको स्थानमा तातो हावा चल्ने भएकाले सतर्क रहन महाशाखाले सुझाव दिएको छ ।

पश्चिम तराईका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ भने नेपालगन्ज र धनगढीको तापक्रम ४२ डिग्री नाघेको छ ।

यसअघि महाशाखाले वैशाख २९ गते तीन दिन तातो हावाको चेतावनी दिएको थियो । उक्त अवधि हिजो (बिहीबार) सकिएपछि मौसमको अध्ययन गरी महाशाखाले पुनः बुलेटिन सार्वजनिक गरी असार २ गतेसम्म तातो हावा जारी रहने जानकारी दिएको हो ।

महाशाखाले जारी गरेको सूचना अनुसार तातो हावा र गर्मीका कारण थकान, कमजोरी, अत्याधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा दुख्ने, चक्कर लाग्ने, बेहोस हुने, मांशपेशीहरू दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको छ ।

यसबाट बच्न महाशाखाले घरभित्रै बस्न, धेरै बाहिर ननिस्कन, हलुका र सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी पिउने र झोल पदार्थ प्रशस्त खान अनुरोध गरेको छ ।

जेठ २८ गते नेपाल भित्रिएको मनसुन पश्चिमतर्फ सर्न सकेको छैन।

मनसुन पश्चिमतर्फ सर्न केही दिन अझै लाग्ने बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको