
रौतहट, जेठ २२ । भारतीय सीमा जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
राजपुर–१ पिपरा भगवानपुरको हुलाकी सडकखण्डको इद्रिस गेटको पूर्वपट्टिमा ४५ वर्षीय भारतीय नागरिकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले घटनाको प्रकृतिअनुसार धारिलोले घाँटी रेटेर हत्या गरिएको अनुमान रहेको बताएकी छिन्।
मृतकको गोजीबाट प्राप्त कागजातमा भारतको बिहारको मोतिहारीको ठेगाना उल्लेख छ । यद्यपी मृतकको स्पष्ट सनाखत नभएसम्म नाम खुलाइएको छैन र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रवक्ता गिरीले बताए ।
मृतकको शवबाट सिजे०१( २५६८ नम्बरको मोटरसाइकल बरामद भएको छ। उक्त भारतीय नागरिकको सोही ठाउँमा हत्या भएको हो वा अर्को ठाउँबाट हत्या गरी फालिएको हो भन्ने खुल्न सकेको छैन ।
हत्या कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव र मोटरसाइकल बेवारिसे अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।