भोजपुर, जेठ १३ । खोटाङ सदरमुकाम दिक्तेलसँग भोजपुर जोड्ने कोट–पाँचधारे सडक स्तरोन्नतिको काम शुरु भएको छ । वर्षायाममा आवागमन अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक निर्माण सुरु गरिएको छ ।
सडकको मोड मिलाउने, ग्याविन नेट भर्ने, नाली काट्ने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल बनाउने काम भइरहेको छ । वडा नं. ६ कार्यालयको पहलमा केन्द्र सरकारले विनियोजन गरेको ८० लाख बजेटमा पिखुवाखोला पुलदेखि वडा नम्बर ६ कार्यालयसम्मको सडक स्तरोन्नतिको काम शुरु गरिएको वडाअध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए।
उनले पश्चिम क्षेत्रमा महत्वपूर्ण सडक भएकाले प्राथमिकताका साथ काम अघि बढाएको जानकारी दिए । हालसम्म करिब ५० प्रतिशत काम सकिएको छ । सडक स्तरोन्नति भएपछि कृषि उपज बजारमा पुर्याउन सहज हुने स्थानीयवासी हरिकुमार राईले बताए ।










