भारतको कस्मिर पुर्याएर बन्धक बनाएका मुसरवस्तीका ९ युवाको उद्धार


बर्दिवास,  जेठ ४ । यति छिट्टै परिवारलाई भेट्न सक्छौँ भन्ने सोचेका थिएनौँ । हामीलाई खोज्दै यति टाढा को आउला र ? सुरुङ झैं बस्ने ठाउँ कसले पत्ता लगाउन सक्ला र ? विरानो मान्छेको विश्वास गर्दा जीवन यसरी नै जाने भो भन्ने लागेको थ्यो उनलाई ।

बर्दिवास–१४ का रामचन्द्र सदाले आफ्नो मनको कुरा बताए । उनीसँगै सो नमुना मुसहर वस्तीका ९ जना युवालाई बिहीबार बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीको रोहवरमा परिवारसँग पुनर्मिलन भएको थियो । मानव तस्करीविरुद्ध काम गर्ने ‘पिन इण्डिया’ नामक संस्था, भारतस्थित नेपाली राजदूतावास, काठमाडौंस्थित ‘शुभ अवसर ग्राम नेपाल’ नामक गैरसरकारी संस्था र बर्दिवास नगरमै कृषिसम्वन्धि कार्यक्रम चलाइरहेको ‘रोयम नेपाल’ नामक संस्थाको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरी परिवारसंग पुनर्मिलन गराइएको हो ।

‘यहाँबाट लगेर भारतको कस्मिर पुर्याएर एउटा घरको पार्किङ्गजस्तो देखिने भूमिगत तलामा राखियो । त्यहाँ पुर्याउँदा नेपालका ४५ जना भयौं ।’ उद्धार गरिएका सोही मुसहर वस्तीकै अर्का युवा मनोज सदाले भने ‘यहाँबाट यताउति लागे आफ्ना मान्छे गौडा–गौडामा छन् मारिन सक्छस्, भनेर धम्की दिइएको थियो । हामीले केही बोल्यौ भने कुटपिट गर्थे । हामीमध्येकै कति साथीले प्लाष्टिकको पाइपले कति पिटाई खाए । दुई, चार लात नखाने त हामी कोही बाँकी भएनौं ।’

गतको माघको दोश्रो सातातिर सो नमुना मुसहर बस्तीमा भारत बिहार अररिया भन्ने ठाउँका ४ जना ठेकेदार आएका थिए । उनीहरूले आफूहरू ठेकेदार भएको र काम गर्ने श्रमिक नपाएर खोज्दै हिडेको भनेका थिए । अर्का युवा सवर सदाले भने ‘ १५ सय दिनको ज्याला दिन्छु भने । तत्काल प्रतिव्यक्ति ७ हजार पनि दिएकाले विश्वास लाग्यो । अनि हामी यो वस्तीबाट ९ जना युवा तयार भयौ ।’

रक्सौल पुग्दा नेपालका विभिन्न ठाउँबाट जम्मा गरेका ४५ कामदार पुगेको उनले बताए । कस्मिर, श्रीनगरको ग्रामिण भेग करालपुरा वडग्राममा पुर्याएर सबैको साथमा घरबाट लगेको जेजति पैसा बाँकी थियो सबै एक–एक गरेर खानतलासी गर्दै खोसियो । दुई छाक खान दिन्थे, आफैले पकाएर खानु पर्थ्यो । हामी ४५ जना मध्येकै एकजनालाई खाना पकाउन छाडिन्थ्यो । चामल, दात र तरकारीको व्यवस्था गरिदिएका थिए । दुईछाक खान भने पाइन्थ्यो, उनले भने ।

उनीहरू सबैलाई निर्माण काममा नै लगाइएको थियो । ‘घर बनाउने कामनै थियो । सिमेन्ट, छड, इट्टा बोकेर ४–५ तलासम्म चढनु पर्थ्यो ।’ छाला उप्किएका हत्केला देखाउँदै रामचन्द्र सदाले भने ‘यी हेर्नुहोस् सिमेन्टले खाएको हात । सबैको हात यस्तै छ । पिटेको निलडाम भने अहिले निकै दिन भएकाले मेटियो । हामीले काम गरेको पैसा कति आउथ्यो, हामीले देख्न पनि पाएनौं ।’

कसरी भयो उद्धार सम्भव                                                                                                                                        नेपालबाट लगिएका मध्ये अलि बाँठा भनिएका दुई जना २-४ दिनमै त्यहाँबाट भाग्न सफल भए । तिनै भागेर आएकालाई सबैको ठेगाना थाहा थियो । उनीहरूले परिवारसम्म खबर पुर्याए । धेरै कमाएर ल्याउला के के गरौंला भनेर सपना देखेका मुसहर परिवारमा वज्रपात भयो । यही जुनीमा फर्कन्छन् भन्ने आश हरायो । रामचन्द्र सदाका श्रीमतीले भनिन् ‘नामै नसुनेको ठाउँ कहाँको कहाँ, कसरी जाने, कहाँबाट जाने सोचेरै रिङ्गटा चल्थ्यो ।’

मुसहर वस्तीमा भएको रुवावासी सुनेर सोही ठाउँमा कृषिसम्वन्धि कार्यक्रम चलाईरहेको रोयम नेपाल भन्ने गैरसरकारी संस्थाकी जिल्ला कार्यक्रम अधिकृत रञ्जु साहले चासो राखिन । उनी भन्छिन् ‘मलाई मानव तस्करीविरुद्ध काम गर्ने केही संस्थाको वारेमा थियो । अनि हामीले आफ्नो संस्थामा कुरा गरेर पहल थाल्यौ ।’ उनले आफू मुसहर महिलालाइ लिएर नगरपालिकादेखि यस क्षेत्रका निर्वाचित प्रदेश सांसद शारदा थापासम्म पुगेर गुहार मागेको बताउँछिन् । त्यतिबेला कसैले वास्ता नगरेको उनको गुनासो छ ।

उनै रञ्जुले ‘पिन इण्डिया’ नामक भारतीय गैरकारी संस्थासंग आवद्ध सामाजिक अभियन्ता सरोज रायलाई सम्पर्क गरिन । सरोजले उनलाई भरपर्दो आश्वासन दिए र उनीहरूको ठेगाना खुल्ने आवश्यककागजात बनाउन भने । रोयम नेपालले मुसहर महिलालाई वडा कार्यालयबाट कागजात बनाउन सहयोग मात्र गरेन, उनीहरूलाई नेपालसम्म ल्याउन पैसाको व्यवस्थाका लागि काठमाडौंस्थित ‘शुभ अवसर ग्राम नेपाल’ नामक संस्थासंग समन्वय पनि गर्यो ।

पिन इण्डियाले भारतस्थित नेपाली दूतावासमा सम्पर्क गरेर सहयोग माग्यो । नेपाली दूतावासले भारत सरकारमार्फत श्रीनगर प्रहरीसंग सहयोग लियो । शुभ अवसरले उनीहरू ४५ जनालाई नै आफ–आफ्नो घरसम्म आउने र बाटोमा खानेको रकमको वित्तिय व्यवस्थापन गर्यो । त्यतिबेलासम्म रोयम नेपालले मुसहरवस्तीमा पीडित परिवारलाई काउन्सिलिङको काम गरिरहेको रञ्जुले बताइन् ।

उद्धार गरिएका ४५ जना मध्ये ९ जना बर्दिवास –१४ नमुना मुसहर वस्तीकालाई बिहीबार अन्तिममा सम्वन्धित पालिकाको रोहवरमा परिवारको जिम्मा लगाइएको शुभ अवसर ग्राम नेपालका बिकास ढुंगानाले बताए । यसअघि केही महोत्तरी जिल्लाकै गौशाला नगरपालिका र सर्लाहीको इश्वरपुर नगरपालिकामा यसैगरी नगरपालिकाको रोहवरमा परिवारको जिम्मा लगाइसकिएको उनले बताए । यीनीहरूले काम गरेको ज्याला दलालले जम्मै लिने भएकाले उसले सित्तैमा दैनिक ५० हजार भारु कमाइरहेको देखियो । गलभग तीन महिनामा दैनिक ५० हजारका दरले दलालले कमाउँदा उ मालामाल भइरहेको रहेछ, ढुंगानाले भने ।

कमाउन गएका मुसहर युवा फर्कदा एक पैसा थिएन । घरमा पुगेकै दिनसमेत उनीहरूको घरमा खाने कुनै व्यवस्था थिएन । बर्दिवास नगरपालिकाले तत्कालका लागि चामल, दाल र तरकारीको व्यवस्था गरिदिएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताए । बर्दिवास नगरपालिकाले उनीहरूलाई सिपमूलक तालिम दिने योजना रहेको प्रमुख क्षत्रीले सुनाए । उनले भने ‘मलाई जानकारी नै थिएन ।कसैले भनेनन् पनि । यसतो अफ्ठ्यारामा परेकालाई सहयोग गर्न बर्दिवास नगरपालिका सधैं तत्पर छ ।’  पेन नेपाल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको