सुर्खेत, चैत २१ गते ।
अन्ततः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । अब केहीबेरमा बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिने तयारी गरेका छन् ।
सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार भएनन् । केन्द्रमा भएको सहमतिलाई प्रदेशसभाबाट विश्वासको मत लिएर मात्र कार्यान्वयन गर्ने माओवादी सांसदको अडान थियो ।
तर प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिएका छन् । प्रचण्डको फोनपछि मुख्यमन्त्री शर्माले एमाले नेताहरुसँग समेत छलफल गरेका थिए ।
त्यसपछि मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार छन् । माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले सदनलाई सम्बोधन गरेर उहाँले राजीनामा राजीनामा दिनुहुन्छ ।
प्रदेश सभाको बैठक अहिले ३ बजे बोलाइएको छ । मुख्यमन्त्री शर्माले यही बैठकबाट विश्वासको मत लिने तयारी गरेका थिए । अहिले उनले राजीनामा दिने तयारी गरेका छन् ।
(onlinekhabar)