
काठमाडौँ, चैत २१ गते ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही चैत २७ गतेसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सुरुमै समय लिएर कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आफूहरुले उठाउँदै आएको विषयमा सरकार गम्भीर नभएको बताए ।
उनले भने, ‘सरकारको अर्को बैठक आउँदै गर्दा छानबिन समिति लिएर आओस् । हामी त्यो भन्दा बायाँ वा दायाँबायाँ हुने वाला छैनौं ।’
कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्रीको नाम पनि जोडिएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
उनले विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको जवाफ माग गर्दा गृहमन्त्री लामिछाने निर्दोष भएको भन्दै त्यस्तो जवाफले शंका उब्जाएको भएको बताए ।
पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान हुँदैछ भनेको तर, नयाँ समीकरण बनेपछि अनुसन्धान नै रोकिएको भन्दै उनले सहकारीको वचतकर्ताको अधिकारका लागि समेत संसदले निकास दिनुपर्ने बताए । यसका लागि आरोपित गृहमन्त्रीको सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग छ ।
(onlinekhabar)