काठमाडौं चैत ८ गते ।
सरकारले चुडामणि पौडेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
भदौ २३ गते मन्त्रिपरिषद्ले सहसचिव पौडेललाई कर्णालीको स्थायी प्रमुख सचिवमा नियुक्त गरेको थियो । उनी अहिले पनि त्यही पदमा छन् ।
अब सचिवको बढुवासँगै उनको पदस्थापन पनि कर्णालीमा हुनेछ । यसअघि पनि पौडेललाई दुई पटक सचिवमा बढुवाका लागि सिफारिस परिसकेका थिए । उनी सिफारिस हुँदा एकपटक दिनेशकुमार घिमिरे र अर्को पटक राधिका अर्याल सचिवमा बढुवा भएकी थिइन् ।
मन्त्रिपरिषद् बैठकले चैत ११ गते अवकाश लिनुहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । उनको राजीनामा स्वीकृत भएपछि नयाँ सचिव नियुक्तिको बाटो खुलेको छ ।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको हो । भण्डारी चैत ११ गतेदेखि अनिवार्य बिदामा जाँदै थिए । अवकाशमा जानुभन्दा ५ दिनअघि उनलाई राजनीमा अनुमोदन गरिएको थियो ।
निजामती सेवा ऐन, २०४९ को दफा ३७ बमोजिम २०४९ कात्तिक २१ अगावै ३० वर्ष सेवा पूरा गरेका कर्मचारीले अनिवार्य अवकाश हुनुअघि नै स्वेच्छिक अवकाश (राजिनामा) लिने र ६० वर्ष पुग्न बाँकी अवधि थप गरी गणना गरिने उल्लेख छ । त्यसमा उनीहरूले थप पेन्सन पाउनेछन्। जसका कारण कतिपय सचिवले ५८ वर्षको उमेर नपुग्दै वा ५ वर्षको कार्यकाल पूरा गर्नुअघि नै राजीनामा दिएका छन् ।
मन्त्रिपरिषद्को बैठकमा श्रम मन्त्रालयलगायतका केही मन्त्रालय र निकायका सचिव हेरफेर गर्ने विषयमा छलफल भएको छ, सूची टुंगो लगाएर प्रमाणीकरण गरिने स्रोतले बतायो । विभिन्न मन्त्रीहरुले आफूअनुकुलका सचिवको सरुवा गर्ने प्रयास गरेका छन् ।
(सेतोपाटी)