एमालेको माग मन्त्री प्रकाश ज्वालाको राजीनामा


काठमाडौँ फागुन ६ गते ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ ।

गत माघ १ गते ललितपुरको बालकुमारीमा प्रहरीबाट गोली लागेर दुई जनाको ज्यान गएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानविन प्रतिवेदन निष्कर्ष भए पनि कारबाही नभएको भन्दै एमालेले विरोध गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन् ।

त्यसपछि बोल्दै रास्वपाका पार्टीका सभापति तथा सांसद रवि लामिछानेले पनि बालकुमारी घटनामा मन्त्री दोषी रहेको छानबिन समितिले निष्कर्ष निकाले पनि प्रधानमन्त्री र मन्त्रीले नैतिकता नदेखाएको बताए ।

‘भौतिक पूर्वाधार मन्त्री नै दोषी रहेको कुरा जुन भन्दै आइएको थियो त्यो प्रतिवेदनले पनि स्पष्ट पार्यो । यति स्पष्ट गरिसकेपछि पनि न मन्त्रीले नैतिकता देखाएको छ न सरकार, न प्रधानमन्त्रीले नैतिकता देखाएको छ,’ उनले भने ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिनेबित्तिकै नेकपा एमाले र रास्वपाका सांसदहरुले आ–आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले एमाले सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच प्रश्नोत्तरको एजेण्डा रहेको छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको