काठमाडौं, फागुन ३ गते ।
अमेरिका पठाउने नाममा काठमाडौंमा भारतीय नागरिकलाई बन्धक बनाएको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८ भारतीय र एक नेपाली नागरिक रहेका छन् ।
अमेरिका पठाउने नाममा नेपाल ल्याएर बन्धक बनाएका ११ भारतीय नागरिकको पनि प्रहरीले उद्धार गरेको छ ।
उनीहरुलाई काठमाडौंको एउटा घरमा ल्याएर भारतबाट अमेरिका पठाउने भन्दै परिवारका सदस्यसँग थप पैसा मागेको नपठाएमा कुटपिट र यातना दिने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा इन्द्रसिंह यादव, निकुण गुप्ता, चरणजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मल्होत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा रहेका छन् । नेपाली नागरिकको नाम भने खुलाइएको छैन । प्रहरीका अनुसार नेपाली नागरिकले नक्कली कागजपत्र बनाएर सहयोग गर्ने गरेका छन् ।
उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार तथा अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार इन्दुसिंह यादव रहेको छ ।
प्रहरीका अनुसार बन्धकहरूलाई हरियो पर्दा, त्यहाँको समय देखाउने घडी, नक्कली हवाई टिकट र मेक्सिको पुगेको देखाउनका लागि बोर्डिङ पास देखाएर परिवारबाट बढी पैसा लिन बाध्य पारिएको थियो ।
उनीहरुले अमेरिका पठाउन प्रतिव्यक्ति ४० लाख भारतीय रुपैयाँ लाग्ने भन्दै घरबाटै पैसा लिन लगाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
श्रोत onlinekhabar