
काठमाडौँ, माघ २६ गते ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको अभियोगमा परेको मुद्दामा उनीहरु दोषी ठहर भएका हुन् ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडा अध्यक्ष भीमबहादुर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । घुस कारोवारमा बिचौलियाको रुपमा काम गर्ने विनोद भरलाई पनि ठगी गरेको भन्दै कारबाही गरिएको छ ।
विशेष अदालतका न्यायाधीशहरु डा। खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार मेहतालाई दोषी ठहर गरेको हो । शुद्धोधन गाउँपालिका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपानी मरासिनी र सोही गाउँपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष भीमबहादुर यादवले खोलाबाट लिइएको बालुवा र गिट्टी बिक्री गर्न आदेश दिएका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।
प्रमुख प्रशासकीय अधिकृतमार्फत बिचौलिया विनोद भरलाई प्रयोग गरी सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको जानकारी पाएपछि अख्तियारको टोलीले भरलाई लिइसकेको रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । भरकै बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडा अध्यक्ष यादवलाई पक्राउ गरिएको हो ।
अनुसन्धानपछि उनीहरुले बिक्री आदेश लम्ब्याउने उद्देश्यले घुस मागेको पुष्टि भएपछि प्राधिकरणले उनीहरुविरुद्ध असार ११ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सोही मुद्दामा शुक्रवार फैसला सुनाउँदै प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ५० हजार बिगो बराबरकै जरिवाना र तीन महिना कैदको सजाय सुनाइएको छ ।
श्रोत रातोपाटी