पुष २३, बर्दिबास।
वषौैदेखि सुकुम्वासीको रुपमा बर्दिबासमा बसोबास गर्ने ५३ घरपरिवार अब आफ्नै जग्गामा मालिक भएका छन् । नगरपालिकाको वडा नं. २ मा बसोबास गर्ने ती ५३ घरपरिवारलाई बर्दिबास नगरपालिकाको कार्यालयले जग्गाधनी पुर्जा (लालपुर्जा) उपलब्ध गराएपछि उनीहरु अब सुकुम्बासीबाट हुकुम्बासीमा परिणत भएका छन् ।
सोमबार नगरपालिकाले जनही १ कट्ठाका दरले लालपुर्जा वितरण गरिएपछि अव्यवस्थित रुपमा बसोबास गर्ने ती घरपरिवार अब व्यवस्थित रुपमा जग्गा पाएका हुन् । अव आफ्नै जग्गामा घर बनाएर बसोबस गर्ने उनीहरु तयारी गरेका छन् ।
भुमि व्यवस्थापन कार्यालयसँग समन्वयन गरि नगरले उनीहरुको लागि जग्गाको वन्दोवस्त मिलाईएको बर्दिबास नगरपालिकाको कार्यालयले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत किरणनिधी तिवारीले जिल्लामै पहिलोपटक यस कार्यमा सफलता हासिल गरिएकोले अगामी दिनमा क्रमिक रुपमा नगरभरिका यस्ता सुकुम्वासीलाई जग्गा प्रदान गरिने तयारी भईरहेको बताएका छन् ।
बर्दिबासका मेयर प्रल्हादकुमार क्षेत्रीले लालपुर्जा पाएकालाई व्यवस्थितरुपमा स्थापित गर्नका लागि सो जग्गामा आवश्यकमात्रामा विजुलीवती र खानेपानीको पूर्वाधार निर्माणका लागि भुमिका निर्वाह गरिने प्रतिवद्धता जनाएका छन् ।
घर व्यवस्थापनका निम्ति विशेष रुपमा तीनैतहका सरकारलाई पहलकदमी तवर रुपले भुमिका निर्वाह गरिदिनका लागि महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोईरीले आग्रह गरेका छन् । अव ठोस रुपमा व्यवस्थापनका निम्ति सरोकारवाला पक्षले संरक्षणका जिम्मेवारी लिई समय समयमा अनुगमन गर्नुपर्नेमा साँसद कोईरीले जोड दिएका छन् ।
राष्ट्यि भुमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले नेपाल सरकारको निर्धारित कार्यक्रम अन्र्तगतमा रहि देशका हरेक स्थानमा वर्षौदेखि कायम रहदै आएको अवस्थित बसोवासलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने धारणा राखेका छन् । अध्यक्ष निरौलाले तीनै तहका सरकारले यस्ता सुधारोन्मुख कार्यमा सरिक भएर कार्यसम्पादन गर्नका लागि अनुरोध गरेका छन् ।
जग्गाको लालपुर्जा पाएपछि बसोबासको स्थायीत्वको साथै चौतर्फी रुपमा कामकाज गर्नका लागि सुलभ भएको भन्दै सुकुम्बासीहरु हर्षित भएका थिए ।
















