काठमाडौँ(रासस), पुस ५ गते ।
प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरेको छ । बागमतीले मधेसलाई २८ रनले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मधेस प्रदेशले टस जितेर पहिले फिल्डिङ गरेको हो । वाग्मतीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११७ रन बनाएको थियो । १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको मधेसले ५ विकेट गुमाएर ८९ रन मात्रै बनाउन सक्यो ।
वाग्मतीका लागि यशोदा विष्टले अविजित ४७, कप्तान अश्मिना कर्माचार्यले अविजित ३० र हेलिशा गुरुङले १२ रन जोडिन् । मधेसकी पूजा महतोले दुई र कविता गौतमले एक विकेट लिए ।
त्यस्तै मधेस प्रदेशका लागि पूजा महतोले ३५ रन बनाइन् भने ८७ रन जोडिन् । उनले ४५ बल खेल्दै चार चौका प्रहार गरिन् । त्यस्तै अनुराधा चौधरीले २८ बलमा तीन चौका प्रहार गर्दै २१ रन र प्रतिमा शाहले १४ रन जोडिन् । बलिङतर्फ वाग्मतीकी अश्मिना कर्माचार्यले दुई र मनिषा उपाध्यायले एक विकेट लिइन् ।
यसैबीच प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल कीर्तिपुर रंगशालामा भइरहेको छ भने अर्को खेल नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लबबीच मुलपानी रंगशालामा हुँदैछ ।











