चितवन(रासस), पुस ४ गते ।
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले चेपाङ समुदायको भाषा संस्कृति संरक्षण र आयआर्जनलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । आज भरतपुरमा आयोजित चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमको मस्यौदा कार्यविधिबारे छलफलमा उहाँले चेपाङ समुदायको उत्थानका लागि नीति तथा कार्यक्रममार्फत योजना कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो ।
चेपाङ समुदायको संरक्षणसँगै चिउरी र चमेराको संरक्षण पनि आवश्यक छ । मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारले ल्याएको यो कार्यक्रम नमुना कार्यक्रम भएकाले सबै नगरपालिकासँग समन्वय गरिने बताउनुभयो । राज्यले सबै जात, कला, संस्कृतिको संरक्षण राज्यले गर्नुपर्छ तर चेपाङ समुदाय पनि पछाडि परेकाले यसलाई हाम्रो विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।
वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारका योजना अध्ययन गरेर मात्रै कार्यान्वयन गर्नुपर्ने तर मनमानी ढंगले योजना ल्याउन नहुने बताउनुभयो । उहाँले स्थानीय तहलाई बलियो बनाएर संघीयता लागू गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पर्यटन क्षेत्रको विकासमा चेपाङ समुदायको परम्परा र संस्कृति महत्वपूर्ण हुने बताउनुभयो । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका ६ नगरपालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।











