मेलम्चीको पानी चाँडै ल्याउने काठमाडौँ तयारी


काठमाडौँ(रासस), पुस ४ गते ।

मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले आगामी २८ दिनभित्र मेलम्चीबाट काठमाडौंको पानी ल्याउने तयारी गरिरहेको जनाएको छ ।

आयोजना र ठेकेदार कम्पनीबीच भएको सहमतिका कारण २८ दिनभित्र पानी डाइभर्ट गर्ने तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । आपत्कालीन अवस्था नआएमा मेलम्चीको पानी तोकिएको समयमा काठमाडौंका घरघरमा पुग्ने उहाँको भनाइ थियो ।

समितिले विज्ञप्ति प्रकाशित गरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले निर्माण उद्योगसँगको समझदारीपत्रमा हस्ताक्षर गर्दै निर्माण क्षेत्रमा तत्काल सहजीकरण र समन्वय गर्ने निर्णय गरेको जनाएको छ ।

‘सम्झौताअनुसार निर्माण क्षेत्रमा तत्काल निर्माण व्यवसायी परिचालन गरिने छ, आगामी २८ दिनको अत्यावश्यक कार्यतालिका अनुसार पानी डाइभर्सनका लागि आवश्यक काम सम्पन्न गर्न दुई सिफ्टमा जनशक्ति परिचालन गरिने छ’, प्रवक्ता पन्तले भन्नुभयो ।

डाइभर्सनपछि मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरको दरले उपलब्ध गराइनेछ । विज्ञप्ति अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सुन्दरीजल खानेपानी प्रशोधन केन्द्रमा शुद्ध पानी प्रशोधन गरी उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुनेछ ।

वर्षायामको जोखिमलाई मध्यनजर गर्दै गत असार ८ गते सुरुङमार्गबाट ​​मेलम्चीमा पानी आपूर्ति बन्द गरिएको थियो । गत साउन २८ र २९ गते मेलम्चीमा आएको बाढीपछि हेडवर्क पुनः निर्माण भएकाले पानी पठाउन समस्या भएको प्रवक्ता पन्तले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको