काठमाडौँ(रासस), पुस ४ गते ।
त्रिभुवन विश्वविद्यालयले एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ बनाउने प्रक्रिया अगाडि बढाएको छ ।
उक्त कीर्तिमानबारे विभिन्न किसिमका सूचना प्रवाह भइरहेका बेला यस वर्षको पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ४९औँ दीक्षान्त समारोहमा आधिकारिक विश्व कीर्तिमानका प्रतिनिधि आएर अवलोकन गरे र विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ दाबी गरेको हो सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहेको थियो भने प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा समारोह भएको थियो । विश्वविद्यालयका विभिन्न संकाय र तहबाट उपाधि हासिल गरेका १२ हजार ४१५ विद्यार्थीलाई पहल गरिएको थियो ।
विश्वविद्यालयको ६१औँ अनुग्रह सूचीमा परेका ७४ हजार ७४९ विद्यार्थीमध्ये यसपटक १२ हजार ४१५ विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका छन् । आवेदन दिनेमध्ये स्नातक तहका लागि ८ हजार ९८, स्नातकोत्तरतर्फ ४ हजार १०४, एमफिलमा ४४ र स्नातक तहका लागि ११२ विद्यार्थीले आवेदन दिएका छन् । गत वर्ष दीक्षान्त समारोहमा १० हजार तीन सय विद्यार्थी सहभागी थिए ।









