काठमाडौँ(रासस), मङ्सिर ३० गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसांस्कृतिक लोकतान्त्रिक समाज निर्माण गरेर मात्र राष्ट्रिय एकता सुदृढ हुने बताउनुभएको छ । यही भावना बोकेर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
आज ललितपुरको थेचोमा नवदुर्गा भवानीदेवीको १२औँ वार्षिकी जात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । हाम्रो समृद्ध मूर्त र अमूर्त सांस्कृतिक सम्पदालाई राष्ट्रिय एकता सुदृढ गर्ने अनुपम माध्यमका रूपमा चिनिन्छ । यी सांस्कृतिक परम्पराले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो संस्कृतिको संरक्षण र संवद्र्धन गर्नु सबैको दायित्व भएको बताए । उनले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने अधिकार दिएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृति मानव समुदायले विभिन्न कालखण्डमा सृजना र छाडेर गएको भौतिक सम्पदा र जीवन पद्धतिको सामूहिक रूप भएको बताउनुभयो । ‘अहिले मुलुकमा केही तत्वले सांस्कृतिक विविधता, सामुदायिक पहिचान र अधिकारलाई संस्थागत गर्ने संविधान र लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम फैलाउने आँट गरिरहेका छन्’, उनले भने, ‘लोकतन्त्रमा मात्रै सबै संस्कृतिको समान रूपमा विकास र विकास हुन्छ । तसर्थ संस्कृतिको संरक्षण गर्न, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न वर्तमान व्यवस्थालाई उल्ट्याउन खोज्ने तत्वका विरुद्ध जनस्तरबाटै प्रतिरोध गर्न आवश्यक छ ।
उहाँले धर्म, संस्कृति, प्रकृति र पर्यटनका दृष्टिले धेरै शक्ति र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक १२ वर्षे नवदुर्गा जात्राको सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा नवदुर्गा भवानी सम्बन्धी विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेता राजकाजी महर्जन, बिना मगरलगायतको उपस्थिति रहेको थियो ।











