काठमाडौँ (रासस), मङ्सिर १६ गते।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक संकट कम हुँदै गएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघको १४औँ वार्षिक साधारणसभामा उहाँले जनताको आर्थिक अवस्था सुधार्न उत्पादन र उद्यमशीलताको विकास गर्नुपर्ने बताउनुभयो ।
मन्त्री ज्वालाले जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि वैज्ञानिक समाजवादको कार्यान्वयनमा जोड दिँदै मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर जनतालाई आर्थिक र सामाजिक अधिकार उपलब्ध गराउन सकिने बताउनुभयो । सामाजिक न्याय, समानता र समृद्धिका लागि विश्व परिवेशमा प्रयोग हुने समाजवादी व्यवस्थाले आर्थिक, वर्गीय र लैङ्गिक शोषण अन्त्य गर्न सक्ने उनले बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षालगायतका विषयलाई आम नागरिकको पहुँचमा ल्याइने समाजवादको विशेषता भएकाले पत्रकारले पनि समाजवादी र ग्रामीण विकास क्षेत्रलाई प्राथमिकतामा राखेर समाचार लेख्नुपर्ने मन्त्री ज्वालाले सुझाव दिए । सरकारले स्थानीय तथा पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा लगानी बढाएकाले पुँजीगत खर्च बढेको उनले बताए । यसले अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।
मन्त्री ज्वालाले मुलुकमा रेमिट्यान्स सङ्कलन बढ्दै गएकाले ब्याजदर घट्दै गएको, आर्थिक सङ्कट न्यून भएको र अर्थतन्त्र सामान्य लयमा फर्कन लागेको बताए । उनले मुलुकमा विदेशी लगानी भित्र्याउन गृहकार्य र लगानी सम्मेलनको तयारी सुरु भएको जानकारी दिए ।
सो अवसरमा आर्थिक क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई पनि पुरस्कृत गरिएको थियो ।











