काभ्रेपलाञ्चोक, मङ्सिर १५ गते।
काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा यही मङ्सिर २२ र २३ गते नेत्र विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। सम्मेलनमा अमेरिका र नेपालका करिब एक सय ५० नेत्र विशेषज्ञले सहभागिता जनाउने छन्।
सम्मेलनमा आँखाको उपचारमा विश्वभर भइरहेका अभ्यास, अनुभव तथा प्रविधिका कारण निम्त्याइएको नयाँ समस्या तथा चुनौतीका बारेमा बृहत् छलफल हुने अस्पतालका अध्यक्ष मधुप्रसाद आभचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनको पहिलो दिन नवनिर्मित ओपडी भवनको शुभारम्भ गरेपछि औपचारिक कार्यक्रम सुरु हुनेछ।
प्रशासकीय प्रमुख हीरामणि शर्माका अनुसार सन् २००७ स्थापित अस्पतालले सन् २०२३ सम्ममा १० लाख नागरिकलाई ओपिडी सेवा उपलब्ध गराएको छ। पाँच जना विशेषज्ञ डाक्टरद्वारा नियमित सेवा प्रदान गर्दै आएको अस्पतालले बनेपाका अलावा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित भकुण्डे, सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुरको ढल्केबरसम्म सेवा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो।
अस्पतालले हाल विद्यालयस्तरमा पुगेर बालबालिकामा आँखासम्बन्धी रोगको पहिचान तथा उपचार गरिरहेको छ। यसअन्तर्गत बनेपा नगरपालिकाका २४ हजार बालबालिकाको आँखाको निःशुल्क परीक्षण गरिरहेको छ। अस्पतालले गत आवमा ५५ हजार नौ सय ९७ लाई सेवा उपलब्ध गराएकामध्ये चार सय ४५ को आँखाको शल्यक्रिया गरेको जनाएको छ।









