स्वास्थ्य क्षेत्रमा समस्या समाधान गर्न अठोट लिएको छु : प्रधानमन्त्री


काठमाडौँ, असोज २३ गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गर्नुभएको छ।
विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको तत्काल समाधान खोज्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने अठोट लिएको छु। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग मिलेर काम गरिनेछ।”
विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सबै नागरिकको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै प्रधानमन्त्री दाहालले मानसिक स्वास्थ्य सेवालाई विस्तारका लागि पहलकदमी भइरहेको जानकारी दिनुभयो। उहाँले  स्वास्थ्यमन्त्रीको नेतृत्वमा महत्वपूर्ण सुधारका काम भएको भन्दै प्रशंसासमेत गर्नुभयो। “स्वास्थ्य क्षेत्रको विकास र जनतालाई सेवा सुविधा दिने विषयमा नयाँ योजना र कार्यक्रम अघि सार्न मैले स्वास्थ्यमन्त्रीलाई निरन्तर प्रेरित गरिहेको छु”, उहाँले भन्नुभयो।
प्रधानमन्त्री दाहालले सो अवसरमा स्वास्थ्य क्षेत्र सुधार तथा समस्या समाधानका लागि काम गरिरहनुभएका स्वास्थ्यमन्त्री, पदाधिकारी र स्वास्थ्य क्षेत्रमा कार्यरत स्थास्थ्यकर्मी सबैलाई धन्यवाद दिनुभयो।
सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोगको बढदो चुनौतीलाई सामना गर्दै गुणस्तरीय उपचारमा सबैको पहुँच सरकारले पहल गरिरहेको बताउनुभयो। मन्त्री बस्नेतले अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा कर्मचारीको दरबन्दी सिर्जना गर्ने, स्वास्थ्य उपकरणको व्यवस्थापन र सरकारी अस्पतालमा सेवा सुधार गर्ने प्रतिबद्धता गर्नुभयो।
कार्यक्रममा मानसिक स्वास्थ्यसँगै समग्र स्वास्थ्य क्षेत्र सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका विभिन्न चिकित्सक, स्वास्थ्यकर्मी, प्रादेशिक अस्पताल, स्थानीय निकाय, गैरसरकारी संस्था र व्यक्तित्वहरुलाई मन्त्रालयले सम्मान गरेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको