एजेन्सी । रूसको सुदूर पूर्वकी एक वृद्धा मस्तिष्कमा एक इन्च लामो सुईसहित ८० वर्षसम्म बाँचेको पत्ता लागेको छ । चिकित्सकहरूले ती महिलाको सीटी स्क्यान गर्ने क्रममा एक इन्च लामो सुईको टुक्रा भेटिएको जनाएका छन् ।
चिकित्सकहरूले ती महिला आफ्ना आमाबाबुले गरेको असफल शिशु हत्याको सिकार भएको विश्वास गरेका छन् तर उनको स्वास्थ्य अवस्था बिग्रने डरले सुई हटाउने प्रयास नगरेको हुनसक्ने बताएका छन् ।
उनका आमाबाबुले दोस्रो विश्वयुद्धको दौरान आफ्नो बच्चालाई मार्ने निर्णय गरेको हुन सक्छ, किनकि उनी ‘जन्मदेखि’ तीन सेन्टिमिटर लामो सुईको साथ बाँचिरहेकी थिइन् ।
विश्व युद्धको समयमा यो विधि अक्सर अपराधको प्रमाण लुकाउन प्रयोग गर्ने गरिएको थियो ।
युद्धको समयमा सोभियत सङ्घमा खाद्यान्नको अभाव व्याप्त थियो र धेरै मानिसहरू घोर गरिबीमा बाँचिरहेका थिए ।
स्थानीय स्वास्थ्य विभागले भनेको छ, “सुई उनको बायाँ ‘पेरिएटल लोब’ (मस्तिष्क) मा छिरेको थियो, तर यसले अपेक्षित प्रभाव पारेन र बालिका बाँच्न सफल भइन् ।”
उक्त बिरामीले चोटपटकका कारण कहिल्यै टाउको दुखेको गुनासो नगरेको र कुनै पनि खतरामा नरहेको बताइएको छ ।
“पिडित वृद्धाको अवस्थालाई चिकित्सकले निगरानी गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ । रासस









