तनहुँ, असोज ६ गते।
राष्ट्रपति रामचन्द्र पौडेलले आफू राजनीतिक गतिविधिमा सहभागी नहुने तर विकास निर्माणका काममा सहभागी हुने बताएका छन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला तनहुँ आएका उनले व्यास नगरपालिका–३ बीपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटन गर्दै सरकारलाई विकासका मुद्दाबारे सचेत गराउने बताएका हुन्।
म दलीय राजनीतिमा हात हाल्दिनँ तर विकासबाट हात झिक्दिनँ। मुलुकलाई विकास चाहिएको छ, जो प्रधानमन्त्री आए पनि म विकासका मुद्दा बारे सचेत गराउँछु’ उनले भने।
राष्ट्रपति पौडेलले जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए। उनले सबैको भावनालाई समेटर अघि बढे स्थायित्व हुने समेत बताए। राष्ट्रपति पौडेलले जनताको अधिकारको रक्षाको लागि राजनीतिक दल अति आवश्यक रहेको तर अति दलबन्दी भएमा निमुखाको न्याय मर्ने समेत धारणा राखे।
‘निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ। निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’ उनले भने। उक्त कार्यक्रममा शहरी विकासमन्त्री सीता गुरुङ, गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी भएका थिए।
करिब ७५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो मानिएको छ। २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँ लागतमा सो सभाहल डाँफे एमए प्रतिष्ठा जेभीले निर्माण गरेको हो। करिब ६ हजार ५०० वर्गफिट क्षेत्रफलमा रहेको सभाहलमा दुईवटा ब्लक छन्।
चारतले भवनको भुइँतलामा पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेका छन्।