काठमाडौं, असोज १ गते।
नेपाली कांग्रेसको आसन्न केन्द्रीय समितिको बैठकको छलफलको पहिलो प्रमुख एजेन्डा महासमिति बैठक हुने भएको छ।
४ असोज (बुधबार)देखि बस्ने बैठकमा मंसिमा हुने महासमितिको तयारीमा केन्द्रित हुने भएको छ। नीति महाधिवेशनले निर्दिष्ट गरेका विषयवस्तु कार्यान्वयन हुने गरि मंसिर १३ देखि १५ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो। महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका प्रतिवेदन लेखनका लागि केन्द्रीय समितिले टोली बनाउने शीर्ष तहका एक नेताले जानकारी दिए ।
विधान अनुसार महाधिवेशन बाहेकका हरेक वर्ष महासमिति बैठक बस्नुपर्दछ। नीति महाधिवेशन र महासमिति दुवै कार्य एकैपटक हुने गरी कांग्रेसले महासमिति बैठक आह्नवान गरेको छ। महाधिवेशन पछिको शक्तिशाली निकाय महासमिति बैठक हो।
केन्द्रीय समितिको बैठकमा पार्टी संगठन सुदृढीकरणको समीक्षा, महासमिति बैठक, समसामयिक विषयमा बैठकमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय समितिले निर्णय गरे अनुुसार भएका पोलिसी ह्याकथान र बीपी साहित्य महोत्सवको समीक्षा हुनेछ। वार्षिक कार्यतालिका अनुुसार हालसम्म भएका कार्यक्रम बारे महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले बैठकलाई जानकारी गराउने भएका छन्।
साउन २० देखि ३० सम्म पार्टी संगठन सुदृढीकरणको अभियान कांग्रेसले चलाएको थियो । भदौ १० देखि २४ सम्म गर्ने भनिएको दोस्रो चरणको कार्यक्रम भने स्थगित गरिएको छ।
केन्द्रीय समितिको बैठक यसपटक पनि प्रत्यक्ष प्रसारण हुने मुख्य सचिव पौडेलले जानकारी गराए।









