एसिया कप क्रिकेटमा डेब्यु गर्दै नेपाल


काठमाडौं, भदौ १३ गते ।

एसिया कप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दै छ। १६औँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ।

नेपाली क्रिकेट टोली एकदिवसीय वरीयतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ। नेपाल र पाकिस्तानबीच आज पहिलो भेट हुनेछ। एसिया कप पाकिस्तान र श्रीलंकाले सञ्चालन गर्दै छन्।

गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो। उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो।

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी नौ खेल श्रीलंकामा हुनेछन्। प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ। दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान तथा समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग यही भदौ १८ गते श्रीलंकामा खेल्नेछ। नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन्।
नयाँ पत्रिका


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको