सम्पादकीय- साढे सात दशकको यो अवधिमा नेपाली कांग्रेसमा कति नेता तथा कार्यकर्ता आवद्ध भए, कति मान्छे बाहिरिए, कुनै लेखाजोखा छैन । सबैको लेखाजोखा संभव पनि छैन । केहीको भने लेखाजोखा हुने गरेको छ । तर सबैको लेखाजोखा एकै नासले हुने गरेको छैन । सर्वोच्च नेता गणेशमान सिंह पनि आफ्नो जीवनको उत्तरार्धमा नेपाली कांग्रेसबाट बाहिरिए ।
सबैभन्दा लामो समय सभापतिका रूपमा काम गरेका संस्थापक नेता कृष्णप्रसाद भट्टराई पनि नेपाली कांग्रेसबाट बाहिरिए । महामन्त्रीद्वय डा.तुल्सी गिरि र परशुनारायण चौधरी पनि नेपाली कांग्रेसबाट बाहिरिएका थिए । गणेशमान र कृष्णप्रसाद भट्टराईको शालिकमा माल्र्यापण गर्ने परम्पराले निरन्तरता पाइरहेकै छ । तर, गिरि र चौधरीको नाम सुन्न कांग्रेस वृत्तमा कसैले चाहँदैनन् । किनकी बर्हिगमनको उद्देश्य फरक थियो । सिंह र भट्टराईले कांग्रेसलाई बलियो बनाउन दबाब दिने, लोकतन्त्रप्रति थप प्रतिवद्ध बनाउने उद्देश्यका साथ पार्टी परित्याग गरेका थिए ।
तर गिरि र चौधरी कांग्रेसलाई कमजोर बनाउने र मुलुकको लोकतान्त्रिक रूपान्तरण प्रक्रियालाई अवरोध पुर्याउने उद्देश्यका साथ बाहिरिएका थिए । उद्देश्य जे सुकै भए पनि यी चारै जनाको बहिर्गमन नेपाली कांग्रेसको इतिहासका सधैँ चर्चायोग्य मोडहरू हुन् । गिरि र चौधरीको नाम उल्लेख नगरी नेपाली कांग्रेसको इतिहास लेखन संभव छैन । पार्टी परित्याग गर्नु अघिसम्म गिरि र चौधरीले पुर्याएको योगदानलाई नेपाली कांग्रेस स्वयंले बिर्सन सक्ने अवस्था छैन ।
यतिबेला गिरि र चौधरीको भन्दा पनि बढी चर्चा स्वार्णिम वाग्लेले पाएका छन् । नेपाली कांग्रेसको इतिहास लेख्दा वाग्लेको नाम समावेश गर्ने ठाउँ फेला पर्न असंभव छ । पार्टीमा उनको योगदान कहीँ कतै फेला पर्दैन । विदेशमा जागिर खाएर फर्के लगत्तै कांग्रेसले लगातार तीन वटा लाभको पदमा दिएको नियुक्तिमा बाहेक वाग्लेको नामोनिशान कांग्रेसमा छैन । तर, समाजिक सञ्जाल हेर्दा यस्तो भान हुन्छ कि, ‘वाग्लेले परित्याग गरेकै कारण नेपाली कांग्रेस समाप्त भयो, वाग्लेबाहेक नेपाली कांग्रेसबाट जसजसले लाभको पद प्राप्त गरे उनीहरू सबैले पैसा बुझाएका थिए, अथवा चाकडी गरेका थिए, वाग्लेले योगदान र क्षमताकै आधारमा लाभको पद प्राप्त गरेका हुन् ।’
हाम्रो समाजको नयाँ पुस्ताको दिमाग कता जाँदैछ ? अध्ययन गर्ने बानी कसरी हराउँदै छ ? एउटा सामान्य चटकेले पनि कसरी नेपालको जनमतलाई प्रभावित गर्न सक्छ ? भन्ने मामिला अब गहन चिन्तनको विषय बनिसकेको छ ।
यस्तो प्रतिक्रिया नेपालको राजनीतिक रंगमञ्चमा कुनै पार्टीको उम्मेदवारले प्रकट गरेको सायद पहिलोपटक हुनुपर्छ । पछिल्लो समय नेपाली राजनीतिमा उरन्ठेउलाहरूको बिगबिगी बढ्नुमा मुख्य दोषी कोही छन् भने बिपी, पुष्पलाल र मदन भण्डारीको नाम जपेर शासन सत्ता ओगट्नेहरू नै छ । उनीहरूले प्रदर्शन गरेको कुशासनकै मानस पुत्रहुन् वाग्ले र लामिछानेहरू । उरन्ठेउला केटाहरूसँग जनता आशावादी हुँदै जानु भनेको लोकतन्त्र खतरामा रहेको संकेत हो ।









