दलित बस्तीमा न्यानो राहत


भङ्गाहा (महोत्तरी), २१ माघ । महोत्तरीको भङ्गाहा नगरपालिकाका दलित बस्ती र अपाङ्गता भएका असहायलाई न्यानो फाइबर सिरक वितरण गरिएको छ ।

भङ्गाहा-४ का १८६ दलित परिवार र भङ्गाहा-६ का ६० परिवार गरिब असहायहरूलाई जिल्ला विपद व्यवस्थापन समिति महोत्तरीले आज शनिबार बस्ती बस्ती नै पुगेर फाइबर सिरक वितरण गरेको हो ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, भङ्गाहा-४ कै स्थायी बासिन्दा तथा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा अधिकारी र रेडक्रस महोत्तरी शाखाका सभापति दिपक मिश्रसहितले प्रतिपरिवार एक/एकवटा सिरक वितरण गर्नुभयो ।

पछिल्लो पटक माघ दोस्रो सातादेखि घाम तात्दै गएर न्यानो महसुस गर्न थालिएपनि माघ तेस्रो साताको प्रारम्भसँगै फेरि वातावरण धुम्मिएर चिसो स्याँठ चल्न थालेपछि जाडो निकै बढेको छ ।

बढ्दो जाडोमा परिवारमा एउटै भएपनि न्यानो सिरक पाइँदा पालो मिलाएर न्यानो लिन पाइने भइएको भन्दै भङ्गाहा-४ रामनगरकी हेमकुमारी सादाले खुशी व्यक्त गर्नुभयो ।

यसपालि जाडो याममा समितिको तर्फबाट एक हजारभन्दा बढी परिवारलाई न्यानो सिरक पुर्‍याइएको समितिका सदस्य एबम् रेडक्रस महोत्तरी शाखाका सभापति मिश्रले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार