महोत्तरी, १० माघ । जाडोमा आङ् ढाक्न नपाएका गरिब तथा असहायसम्म न्यानो पुर्याउने अभियान महोत्तरीमा जारी छ । जिल्ला विपद् व्यवस्थापन समितिको निणर्यले नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले गरिब तथा असहाय परिवारलाई न्यानो बाँड्ने अभियान चलाएको हो । पछिल्लो पटक बर्दिबास नगरपालिका-३, १० र ११ का चुरे काछका गरिब बस्तीका २४८ परिवारलाई हिजो सोमबार र आज बिहान फाइबरको सिरक बाँडिएको रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले जानकारी दिनुभयो ।
पुसको अन्तिम सातादेखि थालिएको यो अभियानमा यसअघि ५०० परिवारलाई न्यानो कम्बल, सिरक र लगाउने न्यानो लुगा पुर्याइएको छ । जिल्लाको सुदुर दक्षिणपश्चिमवर्ती सोनमा गाउँपालिका, सम्सी गाउँपालिका र मध्यवर्ती महोत्तरी गाउँपालिकाका बस्तीमा स्थानीयतह, प्रहरी र रेडक्रस स्थानीय उपशाखाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिले न्यानो लुगा पुर्याएको हो ।
यसबीचमा मटिहानी-७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका ४० वटुक र मटिहानीकै सिमरदही बस्तीका ६० परिवारलाई न्यानो कम्बल र लगाउने न्यानो ज्याकेट पुर्याइसकिएको रेडक्रस महोत्तरी शाखाले जनाएको छ । यसैगरी मनराशिशवा नगरपालिकाको साँढा बस्तीका ५० असहाय परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । माघ दोस्रो साता चल्दै गर्दा पनि जाडो नघटेपछि न्यानो बाँड्ने अभियान जारी राखिएको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो ।
“हामीले स्थानीयतह, प्रहरी, प्रशासनिक इकाइहरु र बिभिन्न सामाजिक संस्थाहरुको सिफारिसमा न्यानो पुर्याइने परिवारको छनौट गर्ने गरेका छौं” जिल्ला विपद् व्यवस्थापन समितिले परिवार छनौट गर्ने प्रकृयाबारे स्पष्ट पार्दै सहायक प्रजिअ न्यौपानेले भन्नुभयो, “जिल्लाका सबैतिरबाट प्राप्त सिफारिसका आधारमा न्यानो वितरण जारी राखिएको छ ।”

यसपालिको जाडोमा रेडक्रसका अतिरिक्त जिल्लाको परिकौलीस्थित नेपाली सेनाको रणभीमगण, बर्दिबास हेल्प फाउण्डेशन र स्थानीयतहमा कार्यरत बिभिन्न सामाजिक सङ्घ संस्थाले गरिब बस्तीमा न्यानो अभियान पुर्याउने क्रम जारी राखेका छन् । बर्दिबास हेल्प फाउण्डेशन महोत्तरीले बर्दिबास नगरक्षेत्रका छ वटा आधारभूत विद्यालयका १२० गरिब छात्रछात्रालाई एक लाख ८० हजार मूल्यका न्यानो लुगा प्रदान गरेको छ । बर्दिबास-२ स्थित जनता माध्यमिक विद्यालयबाट विक्रम सम्वत् २०४९ को प्रवेशिका (तत्कालीन एसएलसी) परीक्षामा सहभागी भएका हरुले संस्थागत रुपमा सामाजिक काम गर्न यो फाउण्डेशनको स्थापना गरेका हुन् । फाउण्डेशनले पछिल्ला तीन वर्षयता बर्सेनि बर्दिबास नगरक्षेत्रका अति विपन्न परिवारका छात्रछात्रालाई पठनपाठका लागि पूणर् छात्रवृति दिदै आएको छ । फाउण्डेशनबाट छात्रवृति पाउनेको सङ्ख्या हालसम्म १२० छ ।
यसैगरी जिल्लाको परिकौलीस्थित नेपाली सेनाको रणभीम गणले जिल्ला सदरमुकाम जलेश्वर र मटिहानी नगरक्षेत्रका बजारचोक र बस्तीहरुमा गत पुसको अन्तिम सातादेखि नै जाडोमा राहतका लागि ठाउँठाउँमा मुडा बालेर धुनी चलाएको छ । अत्यावश्यक कामले घर बाहिर निस्केका बटुवाहरुलाई सेनाका जवानले तातो चिया दैनिक ख्वाउँदै छन् ।
बाक्लो हुस्सुले अझै राम्ररी छाडी नसक्दा जाडो घटेको छैन । अझै चिसो स्यााठ लगातार बही रहेबीच जनजीवन कष्टकर रहँदा यी संस्थाले थालेका मानवीय कामले राहत पुगेको छ । जिल्लाका आम सामाजिक सङ्घ संस्थाहरुले यी संस्थाको प्रयत्नमा बल पुर्याउन थाले राहत अझै फराकिलो बन्दै जाने राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका प्रधानाध्यापक ईश्वरी पौडेल बताउनुहुन्छ ।
महोत्तरीमा पुस मध्ययता लगातार बाक्लो हुस्सुले डम्म ढाकेर लगातार चिसो स्याँठ बहँदैछ । माघ पहिलो सातासम्म घाम देख्न कैयौं दिन कुर्नु परेपनि दोस्रो साता लागेयता भने अलि अबेर गरेर घाम देखिन थालेपछि सर्वसाधारणले निकै राहत महसुस गरेका छन् ।









