जनकपुरबाट चल्ने एम्बुलेन्सको मनपरी भाडा असुली


७ माघ, जनकपुर ।
जनकपुरबाट सञ्चालित बिरामी बोक्ने एम्बुलेन्सले आफूखुशी भाडा असुल गर्न थालेका छन् । ठाउँअनुसार एम्बुलेन्सको भाडा दर निर्धारण गरिएको भएपनि यहाँका एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिने गरेका हुन् ।
एम्बुलेन्स सञ्चालक समिति धनुषाले दुरीअनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । पछिल्लो पटक २०७८ जेठ ४ गते जिल्ला प्रशासन कार्यालय धनुषाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी धनुषा, जिल्ला स्वास्थ्य कार्यालय धनुषा र एम्बुलेन्स चालक सङ्घलगायत सदस्य सङ्घ संस्थाका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले जनकपुरबाट सञ्चालित एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ ।
समितिले जनकपुरदेखि काठमाडौंसम्मको एम्बुलेन्स भाडा १४ हजार निर्धारण गरेको छ । तर, कतिपय एम्बुलेन्सले निर्धारित भाडादरभन्दा बढी लिने गरेका छन भने कतिपयले त्योभन्दा कम लिने गरेको पाइएको छ ।
मधेश प्रदेश–०२–००१ च १०२८ नम्बरका एम्बुलेन्स चालक रामपति यादवले जनकपुरबाट काठमाडौंसम्मको भाडा २२ हजार पाँच सय रुपियाँ लिने गरेको बताउनुभयो । उहाँले भेन्टिलेटर, अक्सिजन र एचए डाक्टर सुविधासहित एम्बुलेन्सको भाडा ६० हजार रुपियाँ र साधारण एम्बुलेन्सको २२ हजार पाँच सय रुपियाँ भाडा लिने गरेको जानकारी दिनुभयो ।
यस्तै, अर्का एम्बुलेन्स चाकल कैलाश श्रेष्ठले निर्धारित भाडा जतिसुकै भएपनि १२ हजार रुपियाँमा जनकपुरबाट काठमाडौं लगिदिने गरेको बताउनुभयो । उहाँले अन्य ठाउँमा पनि सस्तो भाडामा लिएर पु¥याउने गरेको जानकारी दिनुभयो ।
एउटै दुरीको रुटमा एकै खालको सुविधा दिने एम्बुलेन्सले फरक–फरक भाडा लिने गरेकाले सेवाग्राही मारमा परेको जनकपुरका स्थानीय युवा सुनिल यादवले बताउनुभयो । सस्तोमा लगिदिनु सेवाग्राहीलाई फाइदा पुगेपनि महङ्गो भाडा असुल्ने एम्बुलेन्सलाई कारवाही हुनुपर्ने यश घटनालाई छानबिन गर्ने यादवको समुहको भनाई छ ।
एम्बुलेन्स चालक सङ्घ धनुषाका अध्यक्ष अरमान साहले एम्बुलेन्स सञ्चालक समितिले तोकेकोभन्दा बढी भाडा लिनेलाई कारवाही गरिने बताउनुभयो । बढी भाडा लिने एम्बुलेन्सलाई यसअघि पनि कारवाही पैसासमेत फिर्ता गर्न लगाएको बताउँदै उहाँले प्रमाण लिएर आएर जुनसुकै एम्बुलेन्सलाई कारवाही गरिने बताउनुभयो ।
यस्तै, एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय सदस्य महाशङ्कर ठाकुरले दुरीअनुसार एम्बुलेन्सको भाडादर एउटै बनाएर कार्यान्वयनमा ल्याइएको भएपनि कतिपयले सुविधाको नाउँमा पछिल्लो समय आफूखुशी भाडा लिने गरेको गुनासो सुन्नमा आएको बताउनुभयो । उहाँले भेन्टिलेटर र चिकित्सक सेवाको नाउँमा एम्बुलेन्सले मनपरी भाडा लिने गरेको जानकारी दिनुभयो ।
भेन्टिलेटर र चिकित्स सेवा प्रदान गर्ने एम्बुलेन्सको पनि भाडा निर्धारण गरिदिन एम्बुलेन्स सञ्चालक समितिले पटक–पटक ध्यानाकर्षण गराएको बताउँदै केन्द्रीय सदस्य ठाकुरले भाडादर निर्धारण हुन नसक्दा सेवाग्राही ठगीमा पर्ने गरेको बताउनुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस विषयमा अनुगमन गरिने र सेवाग्राहीसँग बढी भाडा लिएको पाइएमा कारवाही गरिने बताउनुभयो । उहाँले सेवासुविधाको नाउँमा बढी भाडा लिन नपाइने बताउँदै समितिको बैठकमा बोलोएर छलफल गरिने जानकारी दिनुभयो ।                            सुन्नुहोस यो अडियो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार