२२ जेठ । जनकपुरधामबाट भैरहवातर्फ गएको एक यात्रुवाहक बस आइतबार बिहान रूपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ र रोहिणी नगरपालिका वडा नम्बर ४ को सीमाक्षेत्रमा दुर्घटना हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ ।
शनिबार साँझ जनकपुरधामबाट भैरहवाका लागि गुडेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस दुई पालिकाको सीमा नदी रोहिणी खोला पुलको रेलिङ्ग भाँच्दै आइतबार बिहान चार बजे पुलमुनि खसेको छ ।
प्रारम्भिक जानकारीअनुसार बसमा सवार नौजनाको मृत्यु भएको छ भने प्रायः सबै यात्रु घाइते भएका छन् । तर, मृत्यु भएकाहरूका सँख्याका बारेमा प्रहरीले पुष्टि गरेको छैन । यसअघि खोलामा बस खसेपछि ३२ यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको थियो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा लगिएको छ ।
यसैबीच दुर्घटनासम्बन्धी खबर प्राप्त भएपछि मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीसँग घाइतेहरूको उद्धार तथा उपचारका बारेमा कुरा गरेका छन् । उनले सुरक्षा अधिकारीहरूसँग कुरा गर्दै उद्धार तथा उपचार प्रक्रियामा गम्भीर चासो लिन समेत आग्रह गरेका छन् ।
भैरहवाका पत्रकार रामविकास चौधरीका अनुसार मृत्यु भएकामध्ये तीनको सनाखत भएको छ । सनाखत भएका मृतकमा रौतहटका दिनेश दास, रुपन्देहीको ओमसतिया ४ का राजेन्द्र पाण्डे र बुटवल उपमहानगरपालिका ११ का कृष्णप्रसाद बस्याल छन् ।











