मधेसका फाँट हेर्न ६० लाखको भ्यु टावर, भ्यु टावरमा धान चामल फल्दैन : पौडेल


समथर मैदानका साथै डाँडाकाँडा, जंगल एवं चुरे पहाडले प्राकृतिक रुपमा सम्पन्न निजगढ नगरपालिकाले मधेसका फाँटहरू हेर्न ६० लाख लगानीमा ४ तले भ्यु टावर बनाएको छ । पर्यटन प्रवर्द्धन गर्न भन्दै नगरपालिकाको वडा नं ४ स्थित हीरालाल पार्कभित्र भ्यु टावर निर्माण गरेको हो ।

नगरपालिकाका इञ्जिनियर नवीन खनालले मधेसका फाँटहरू हेर्न नगर विकास कोषको ६० लाख बजेटबाट भ्यु टावर निर्माण गरिएको बताए । उनले भने, ‘भ्यु टावरमा टेलिस्कोप जडान गरेर ३० देखि ३५ किलोमिटर टाढा तराईका भूभाग हेर्न मिल्ने गरी बनाउने हाम्रो उद्देश्य हो तर अझै केही बाँकी रहेकाले पूरा गर्न सकिएको छैन ।’

०७२ सालदेखि निर्माण शुरु गरिएको भ्यु टावरको केही काम अझै बाँकी रहेको नगरपालिकाकाले जनाएको छ । यो भ्यु टावरबाट मधेसका कृषियोग्य समथर फाँट, बस्ती, बजार, बकैया, धन्सार, पसाहा खोला र मकवानपुर जिल्लाका केही भू–भाग प्रष्टसँग देखिने नगरपालिकाका कर्मचारी बताउँछन् ।

नगरपालिकाले निर्माण गरेको भ्यु टावर चढ्न पछिल्लो समय आन्तरिक तथा छिटफुट रुपमा भारतीयहरुसमेत आउने गरेका छन् । निजगढका स्थानीय सरोज कोइराला भ्यु टावरबाट हेटौडाको शहीद स्मारक र पोखराको सरानकोट जस्तै निजगढको रमाइलो दृश्य देख्न पाइने बताउँछन् । उनी भन्छन्, ‘यहाँबाट निजगढका खोलानाला, वनजंगल, बस्ती सबै दृश्य प्रष्ट रुपमा देख्न पाइन्छ ।’

पर्यटन प्रवर्द्धनका लागि निजगढ नगरपालिकाकाले भ्यु टावरसँगै शहीद हिरालाल पार्क, मोहरी पार्क, शक्ति खोला तटबन्ध लगायत पूर्वाधार निर्माणमा संघ, प्रदेश र स्थानीय सरकारको करोडौं रुपैयाँ लगानी गरेको छ ।

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले निजगढमा प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र पर्यटकहरुले रुचाउने ठाउँ भएकाले यस्ता ठाउँहरुको अवलोकन गर्न भ्यु टावर निर्माण गरिएको बताउँछन् । उनी भन्छन्, ‘निजगढको भूगोल पर्यटनको अत्यन्तै सम्भावना बोकेको ठाउँ भएकोले पर्यटनमैत्री संरचना बनाउन आवश्यक देखेरै भ्यु टावर निर्माण गरिएको हो ।’

भ्यु टावरमा धान चामल फल्दैन : पौडेल

निजगढ नगरपालिका डाँडाकाँडा र चुरे पहाडले सम्पन्न भएकाले मधेस फाँटहरू हेर्न भ्यु टावर आवश्यक नपर्ने दावी गर्छन् नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल । निजगढका स्थानीय समेत रहेका पौडेलले भ्यु टावर पछिल्लो समय युवा पुस्ताका लागि रमाइलो गर्ने ठाउँका रुपमा विकास हुँदै गएको बताए ।

‘डाँडाबाट उठेर हेर्दा पनि निजगढको सबै ठाउँ प्रष्ट रुपमा देखिन्थ्यो, तर मानिसलाई सजिलोका लागि भ्यु टावर बनाइएको हो’ पूर्वमन्त्री पौडेलले भने ‘भ्यु टावरमा धान चामल फल्दैन । यसले प्रतिफल पनि खासै दिँदैन । यो अलि–अलि पैसा भएकालाई अल्मल्याउन, मनोरञ्जन गर्न बनाइएको हो ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको