११ चैत,उदयपुर । उदयपुरमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जिल्लाको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ३ स्थित हात्तीअड्के भन्ने ठाउँमा भएको ट्याक्टर दुर्घटनामा २८ वर्षीय चालक राजेन्द्र प्रजाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार ना.६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएको थियो । दुर्घटनामा मृत्यु हुने चालक मनवानपुर हैटौडाका स्थानीय हुन् ।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परेको ट्याक्टरमा गिटी लोड गरिएको थियो । डीएसपी गौतमका अनुसार ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको थियो । स्थानीयले जानकारी दिएपछि घाइते चालकलाई इलाका प्रहरी कार्यालय लिम्चुङबुङको टोलीले तत्काल उद्दार गरी बोक्सेस्थित उदयपुर जिल्ला अस्पताल ल्याएको थियो ।
तर, उपचारकै क्रममा आज राती ७ः३० बजे मृत्यु भएको डीएसपी गौतमको भनाई छ ।अहिले शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । मृतक चालकको बिहीबार पोस्टमार्टम गरी परिवारसँग सम्पर्क भएपछि जिम्मा लगाइने भएको छ ।











