चुच्चे नक्सा अनुसारको क्षेत्रफल अझै भएन सार्वजनिक


७ माघ । २०७७ जेठमा सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्‍यो तर नयाँ नक्साअनुसार मापन गरिएको नेपालको आधिकारिक क्षेत्रफल भने अझै सार्वज्निक गरिएको छैन।

नयाँ नक्सा जारी भएलगत्तै २०७७ असारमा भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा अनुसार नेपालको आधिकारिक क्षेत्रफल मापन गर्न नापी विभागलाई लिखित निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि विभागले चुच्चे नक्सा अनुसार नेपालको क्षेत्रफल मापन गरेर २०७७ असोजमा मन्त्रालयमा रिपोर्ट बुझाएको थियो। उक्त रिपोर्ट गोप्य राखिएको छ।

विभाग स्रोतका अनुसार क्षेत्रफल मापन गर्न विभागका प्राविधिकले जिआइएस जोग्राफिक इन्फरमेसन सिस्टमबाट चुच्चे नक्सा अनुसारको नेपालको क्षेत्रफल मापन गरेका थिए।

जिआइएस सिस्टमबाट मापन गर्दा फिल्डमा नगएर पनि वास्तविक क्षेत्रफल मापन गर्न सकिने विभागका एक उच्च कर्मचारी बताउँछन्। तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको पनि यसमा विशेष चासो रहेको विभागका ती कर्मचारी बताउँछन्।

विभागले मन्त्रालयमा रिपोर्ट बुझाएको १ वर्ष पूरा भइसकेको छ तर मन्त्रालयले यसलाई सार्वजनिक गर्न पहल गरेको छैन।

नागरिक दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको