देबराज
१६ पुष । केही दिन देखी चिसो र शीतलहरको कारण घाम नलाग्दा र चिसो हावा चलेसँगै शीतलहरले मध्य तराईको जनजीवन प्रभावित भएको छ।
महोत्तरी,धनुषा, सिरहा, सप्तरीसहितका मध्य तराईका जिल्लामा अत्याधिक चिसो बढेको छ। चिसोका कारण अपाङ्ग, अशक्त, बालबालिका र जेष्ठ नागरिकहरु चिसोबाट बढी प्रभावित भएका छन्।
सडकमा हिड्ने दैनिक कामकाजी तथा श्रमिकहरुको चहलपहलमा समेत कमी देखिएको छ। चिसोले गर्दा बिरामीको संख्या बढेको छ। चिसोले अहिले अस्पतालहरुमा रुघाखोकी, दम र निमोनियाका बिरामी बढेका छन्। तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरिब विपन्न समुदायका जेष्ठ नागरिक र बालबालिकाहरु बढी बिरामी भएको देखिएको छ।
विपन्न समुदायमा वर्षेनी चिसोले कठ्याग्रिएर बृद्धबृद्धा र बालबालिकाको मृत्यु हुने गरेको छ। तराईका गरीब र सीमान्तकृत समुदाय चिसोमा बढी प्रभावित हुने गरेका छन्।
शीतलहर
हावामा पानीको मात्रा मिलेर गह्रौँ हुने हुँदा पृथ्वीको सतहमै जमेर बसिदिने गर्छ जुन धुवाँ जस्तो देखिन्छ। त्यसलाई कुहिरो भन्ने गरिन्छ। त्योसँगै हावा चल्न थालेपछि पानिको मात्रामा परिणत भई जमिनमा झर्ने गर्छ त्यसलाई शीतलहर भनिन्छ र विशेष गरी पुस र माघ महिनामा चिसो बढी हुने गरेको छ।
यसवर्ष पुषको पहिलो साताबाट नै मध्य तराईका जिल्लामा चिसो सुरु भएको छ। यसले गर्दा जनजीवन प्रभावित बनेको हो। कुहिरो र शीतसँगै चल्ने चिसो पश्चिमी हावाका कारण स्थानीयको दैनिकी पनि सुस्त हुँदै गएको छ। बजार तथा कार्यालयहरुमा सर्वसाधारणको उपस्थिति दिउँसोमा मात्रै हुन थालेको छ।
सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा चिसोले गर्दा सेवाग्रहीहरुको संख्यामा कमी आएको छ। बिहानै खुल्ने व्यापारिक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन्। सार्वजनिक स्थलहरुमा मानिसहरु जम्मा भएर आगो बालेर तापिरहेका छन्। खुल्ला स्थानमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, रिक्सा र ठेला चालकहरु चिसोका कारण बढी प्रभावित छन्।



















