मंगलबजारमा भेटिएको १४ सय वर्ष पुरानो अंशुवर्माको शिलालेखले के भन्छ


सबिना श्रेष्ठ

७ पुष काठमाडौं । मंगलबजारस्थित पाटन दरबार स्क्वायरको भीमसेन मन्दिरअगाडि १४ सय वर्ष पुरानो शिलालेख भेटिएको छ।

गत सोमबार ढल खन्ने क्रममा उक्त शिलालेख फेला परेको थियो। पुरातत्वविद् प्रकाश दर्नाल र लिपि विज्ञ श्यामसुन्दर राजवंशीले बुधबार उक्त शिलालेखमा कुँदिएको अक्षरका आधारमा त्यो लिच्छवि संवत् ५३६ को रहेको पुष्टि गरेका हुन्। यो भनेको विक्रम संवत् ६७१ हुन आउँछ।

बुधबार अपराह्न ३ बजेतिर हामी मंगलबजार पुग्दा लिपि विज्ञ राजवंशी र पुरातत्वविद् दर्नाल ढलको निम्ति खनिएको खाडलमा झरेर शिलालेखमा कुँदिएका अक्षर पढ्दै थिए।

उनीहरूले शिलापत्रमाथि सेतो कागज टाँसे र त्यसमाथि मसी पोते। यसबाट शिलापत्रमा कुँदिएका अक्षर कागजमा छापियो। यसै आधारमा लिपि विज्ञ राजवंशीले शिलालेखमा कुँदिएका अक्षरबारे प्रारम्भिक विवरण दिएका हुन्।

उनका अनुसार शिलालेखको शीर्षभागमा श्रावक मृग र बीचमा धर्मचक्र चिह्न छ। यसले उक्त शिलालेख बौद्ध धर्मसँग सम्बन्धित रहेको बुझाउँछ।

शिलालेखमा ५३६ जेठ मासे शुक्ल पक्ष भनेर लेखिएको छ। लिच्छविकालीन लिपि र संस्कृत भाषाको शिलालेखमा तत्कालीन शासक अंशुवर्माको नाम प्रस्टै बुझिने राजवंशीले जानकारी दिए।

अंशुवर्माले लिच्छवि राजा वृषदेवले मंगलबजारमा निर्माण गराएको बौद्ध विहारबारे जानकारी दिन यो शिलालेख राखेको हाम्रो प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,ु राजवंशीले सञ्चारकर्मीहरूसँग भने।

लिच्छवि राजा वृषदेव बौद्ध धर्मका अनुयायी थिए। उनले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बौद्ध चैत्य निर्माण गराएको इतिहास छ। उनी राजा मानदेवका जिजुबुवा हुन्, अर्थात् हजुरबुवाका पनि बुवा हुन्।

पाटन, मंगलबजारमा फेला परेको लिच्छविकालीन शिलालेखमा कुँदिएका अक्षर छाप्दै लिपि विज्ञ श्यामसुन्दर राजवंशी ९दायाँ० र पुरातत्वविद् प्रकाश दर्नाल। तस्बिरस् सेतोपाटी
हामीले अहिले पाटन दरबार स्क्वायर जस्तो देखिरहेका छौं, त्यो सधैं यस्तो थिएन। लिच्छवि कालमा त्यहाँ एउटा बौद्ध विहार थियो जसलाई वृषदेवले बनाएका थिए।

धेरै वर्षपछि राजा सिद्धिनरसिंह मल्लले त्यहाँ आफ्नो दरबार विस्तार गर्न उक्त विहार अहिलेको हस्का बहालमा सारेको र लिच्छविकालीन विहार भएको ठाउँमा केशवनारायण चोक निर्माण गराएको भनाइ छ।

‘पाटन दरबारको मुख्य प्रवेशढोकामा अहिले पनि साउन महिनाभरि बुद्धको मूर्तिमा पानी चढाएर पूजा गरिन्छ। यसले त्यो ठाउँमा पहिले विहार थियो भन्ने झल्काउँछ,’ राजवंशीले भने, ुअहिले फेला परेको शिलालेखले त्यहाँ लिच्छविकालीन विहार थियो भन्ने प्रमाणित गरेको छ।ु

शिलालेखमा राजा वृषदेवले बनाएको विहारबारे उल्लेख भएकाले ऐतिहासिक रूपले निकै महत्वपूर्ण रहेको राजवंशी बताउँछन्।

‘शिलालेखले धेरै कुरा बोल्दैन, थोरै बोल्छ। तर यसले इतिहासका घटना पुष्टि गर्छ। वृषदेवले यहाँ बौद्ध विहार बनाएका थिए भनी पुष्टि गर्ने यो शिलालेख निकै महत्वपूर्ण छ,’ उनले भने।

शिलालेख करिब छ फिट अग्लो छ तर यसको एकचौथाइ भागमा मात्र अक्षर कुँदिएका छन्। बाँकी भाग जमिनमुनि गाडिएको हुनसक्ने राजवंशीले बताए।

शिलालेख फेला परेको ठाउँमा करिब ४० वर्षअघि ढलको पाइप बिछ्याइएको थियो। ढलको पाइप र शिलापत्रको अवस्था हेर्दा त्यति बेलै यो फेला परेको भए पनि बेवास्ता गरेर पुरिएको हुनसक्ने स्थानीय बताउँछन्।

यस्तो महत्वपूर्ण शिलालेखलाई बेवास्ता गरिएकोमा राजवंशीले दुस्ख पनि व्यक्त गरे।

‘त्यो बेला लिपि विशेषज्ञ हेमराज शाक्य जीवित हुनुहुन्थ्यो। सत्यमोहन जोशी र हरिराम जोशी त अहिलेसम्म जीवित हुनुहुन्छ। उहाँहरूले पनि थाहा नपाउने गरी गुपचुप छोपिएजस्तो छ। नभए उहाँहरूले यति पुरानो शिलालेख फेला परेपछि त्यसरी बेवास्ता गरेर फेरि छोप्न दिनुहुन्थेन,ु उनले भने।

उनका अनुसार ढल निर्माण क्रममा प्रयोग भएको सिमेन्टले शिलालेखको केही भागलाई असर पुर्‍याएको छ। यसले सबै अक्षर पढ्न असहज भइरहेको राजवंशी बताउँछन्।

लिपि विज्ञ श्यामसुन्दर राजवंशी। तस्बिरस् सेतोपाटी
सिमेन्ट भएको भागमा कुँदिएका अक्षर बुझियोस् भनेर खुर्किने काम भइरहेको छ। ुसबै विवरण पढेपछि मात्र अरू के(के लेखिएको छ भनेर भन्न सकिन्छ,ु उनले भने।

यसअघि लिच्छवि संवत् ५३६ कै शिलालेख गोकर्णको बालुवा गाउँमा फेला परेको थियो। त्यसमा संवत् ५३६ द्वितीय पौष भनेर लेखिएको छ।

‘त्यो शिलालेखमा अंशुवर्माले आफैंले स्थापना गरेको राजविहारबारे उल्लेख गरेका छन्। त्यसैले उनले त्यसमा ुस्वकारितक राजविहारु भनेर लेखाएका थिए,’ राजवंशीले भने, ‘यसमा भने राजा वृषदेवले बनाएको विहारबारे उल्लेख गरेका छन्, त्यसैले ुवृषदेवकारितक राजविहारु भनिएको छ।’

यो शिलापत्रलाई बुधबारै ढल निर्माण भइरहेको खाडलबाट झिकेर पाटन संग्रहालयमा लगेर राखिएको छ।

पुरातत्व विभागकी नर्वदा श्रेष्ठले संग्रहालयमा शिलालेख सुरक्षित रहने बताउँदै भनिन्, ‘यहाँ त घामपानीबाट पनि असुरक्षित छ र बिग्रने सम्भावना पनि हुन्छ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको