२६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का नेता दीपक बोहराले अब राप्रपा एकताबद्ध रुपमा अघि बढ्नु पर्ने बताएका छन् ।
एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीलाई आइतबार शुभकामना दिदै नेता बोहराले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको धारणा सार्वजनिक गरेका हुन् ।
उनले पार्टीका नव नर्विाचित केन्द्रीय समितिसहित सम्पूर्ण नेता कार्यकतालाई सन्तुलित एवं संयमित भएर एकताबद्ध रुपमा पार्टी संगठनमा लाग्न आह्वान गरेका छन् । नयाँ नेतृत्वप्रति पार्टीका तमाम सदस्य, शुभचिन्तक, शुभेच्छुकहरुका साथै आम जनसमुदायले समेत आशा एवं भरोसा गरेको भन्दै बोहराले निर्वाचन परिणामलाई प्रजातान्त्रिक अभ्यासको रुपमा स्वीकार्नुपर्ने बताए । ‘अब हामीलाई विभाजित हुने छुट छैन, यथार्थलाई बुझौं ।’शुभकामना सन्देशमार्फत बोहराको आग्रह छ ।
कोभिडका कारण आफ्नो स्वरनलीमा समस्या देखिएको र त्यसको उपचारका लागि मंसिर २८ गते अमेरिका जान लागेको जानकारी दिंदै बोहराले स्वास्थ्य उपचारबाट फर्केपछि पूर्ण रुपमा पार्टीलाई एकताबद्ध बनाउन सक्रिय हुने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । पटक पटक सांसद र मन्त्री भैसकेका बोहरा राप्रपाका वरिष्ठ नेता हुन् ।









