१८ भदौ । कैलाश खोलामा आएको भीषण बाढीले गत वर्ष भदौ २ गते जिल्लाकै पुरानो ग्रामीण बजार रामारोशन–५ सैनीबजारका नामोनिसान मेटियो । सैनीका २५ घरमध्ये २२ घर बाढीले बगाएको थियो ।
घरसँगै ४ परिवारका १७ जना बेपत्ता भएका थिए । हालसम्म ७ जनाको शव भेटिएको छ भने १० जना अझै फेला परेका छैनन । बस्ती नै शोकमा डुबेको एक वर्ष भयो । तत्कालीन सैनी साविकको रामारोशन र भाटाकाटिया गाविसको व्यापारिक केन्द्र हो ।
स्थानीय तह गठनसँगै रामारोशन–५ मा समेटिएपछि सैनीबजारको पनि स्वरूप फेरिएको थियो । चार वर्षमै व्यापारिक चहलपहल बढेपछि स्थानीयले लाखौं लगानी थपेर घर बनाएका थिए । गत वर्षको बाढीले १७ जना बेपत्ता पारेसँगै स्थानीयको रोजगारी नै गुम्यो । तर एक वर्ष बितिसक्दा पनि पीडितले आश्वासन मात्रै पाएका छन् । राहतको नाममा घटना भएको समयमा विभिन्न संघसंस्थाले दिएको खाद्यान्न र तत्कालका लागि दिइएका लुगा कपडा मात्रै भएको सैनीबजारका स्थानीय व्यापारी दीर्घराज रोकायाले बताए ।
‘एक वर्षयताका रात छटपटीमै बितिरहेका छन्,’ रोकायाले भने, ‘एकै दिनको बाढीले बजार उजाड बन्यो, हाम्रो उठिबास भयो । अब त आकाशमा बादल देख्दा पनि कतिखेर बाढी आउँछ भन्ने डर लाग्ने गरेको छ ।’ सैनीबजारमा रोकाया र खडक बटालाको पसल मात्रै बचेको छ । सैनीबजारसहित कैलाश खोलाको बाढीले करिब २ सय ५० परिवार विस्थापित भएका छन् ।
उनले अझै पनि निरन्तर वर्षा भइरहेकाले यहाँका धनेसल्ला, सोड्ना जाततोलालगायतका बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको बताए । ‘अझै पनि बाढीको डर लाग्छ । १७ जनाको ज्यान गएको थियो । सम्पत्ती सबै बाढीले बगायो । हामीले अहिलेसम्म राहत पाएका छैनौं,’ उनले भने ।
रामारोशन गाउँपालिका–५ सनानी गाउँका ९० वर्षीय झंकर साउद र ७५ वर्षीया श्रीमती सुर्जा पनि राहतकै पर्खाइमा छन् । कैलाश खोलाको बाढीले यी वयोवृद्ध दम्पतीको सपना, आशा भरोसा सबै उजाड हुन पुगेको पनि १ वर्ष पूरा भयो । अछाम सदरमुकाम मंगलसेनबाट ४५ किलोमिटर टाढाका उनीहरूलाई अझै पनि गत वर्षको भदौ २ गते रातिको बाढीले तर्साइरहन्छ । कैलाश खोलाको बाढीले उनका छोरा नन्दु साउदसहित ६ जनाको ज्यान लियो । बुढेसकालका सहारालाई बाढीले निलेपछि अहिले यी वृद्ध दम्पती एकले अर्कोलाई रुँघेर जीवनको उत्तरार्द्ध कटाउँदै छन् । बाढीले बगाएका सन्तानको अहिलेसम्म अत्तोपत्तो छैन ।
‘हाम्रा बुढेसकालका सहारा नन्दु, बुहारी गंगा, नातिहरू रूपेश र नवीन, नातिनी बुहारी र पनातिनी प्राप्तिसहित ६ जनालाई बाढीले लगेपछि हामी एक्लो भएका छौं । हामीसँग अहिले एकले अर्काको आँसु पुछ्दै बाँकी जीवन कटाउनेबाहेक अर्को विकल्प छैन,’ ९० वर्षीय झंकर साउदले भने, ‘सारा सन्तान बाढीले बगाउँदा उनीहरूको मन कैयौं पटक टुटेको छ, । मर्न मन कहाँ नलागेको हो र । बाँच्नलाई त बाँचेका छौं तर मनमा अहिले पनि कैलाश खोलाको भन्दा ठूलो बाढी चलिरहेको’ पीडित दम्पती बताउँछन ।
सन्तान सबै बाढीले लगेपछि उनीहरूले सरकारबाट ६ लाख राहत पाए । भन्छन्, ‘तिम्रो छोराको ऋण छ, तिर भन्दै घरमा आउँछन् । ६ वटा ज्यानको ६ लाख राहत लिएका थियौं । अरू कसैले केही दिएका छैनन् । ऋण कसरी तिर्नु रु कसरी गुजारा चलाउनु सोच्दासोच्दै दिन ढल्छ, रात पर्छ ।’
बाढीमा बगेर बेपत्ता भएका परिवारको हेरचाह गर्ने मान्छे नहुँदा उनीहरूलाई कम्ता गाह्रो भएको छैन । ‘मेरो भरोसा उहाँ, उहाँको भरोसामै हो । हामी आँखा राम्ररी देख्न सक्दैनौं । कसैले सन्चो बिसन्चो पनि सोध्दैनन्’, सुर्जाले गहभरी आँसु लिएर भनिन् ।
कान्तिपुर









