१३ भदौ जनकपुर । धनुषाको जनकपुरधाम स्थित जानकी प्रहरी चौकीका सई नागेन्द्र यादव बर्दिमै बियर खाएको भिडियो सार्वजनिक भएको छ ।
जनकपुरको प्रादेशिक अस्पताल अगाडी रहेको दरभँगा सिटी स्क्यान सेन्टरमा राती उनले डयुटीकै बेला प्रहरीको पोशाकमै बियर खाँदै गरेको भिडियो सिटि टिभी फेला पारेको छ । भिडियो गत साउन १६ गते अर्थात ३१ जुलाई २०२१ को रहेको देखिएको छ ।
सई यादवले दरभँगा सिटी स्क्यानमा गएर दिनहुँ रक्सी खाने गरेको बताइएको छ । राती डयुटिमा खटेको बेला दरभँगा सिटी स्क्यानको ल्याबभित्रै बियर खाँदै गरेको भिडियोमा देखिएको छ ।
जानकारी अनुसार, सई यादवले डयुटीको बेला सो क्षेत्रमा निस्कदा अन्य नीजि अस्पताल वा क्लीनिकहरुमा गएर बर्दिमै ९प्रहरी पोशाक० मै रक्सी खाने गरेका छन् । नीजी क्लीनीक र अस्पतालहरुमा हुने गैर–कानुनी कार्यलाई सँरक्षण दिनको लागि उनी अस्पतालहरुबाट महिनबारी समेत उठाउने गरेको आरोप छ ।
भिडियोमा सई यादव डयुटीको बेला राती करिब १० बजेर ५३ मिनेटमा दरभँगा सिटी स्क्यानको ल्याबमा गएर कुर्शीमै सुतेको देखिन्छ । डयुटीको बेला प्रहरीले सुत्न नपाउने अनुशासनमा छ । उनी आफ्नो क्षेत्रमा हुने डयुटीको बेला सिटी स्क्यानको ल्याबको कुर्शीमा निदाएको देखिन्छन् ।
केही बेरपछि दरभँगा सिटी स्क्यानका एक कर्मचारीले उनलाई उठाउँछन् । उठाएर बियर ल्याएर दिन्छन् । कर्मचारी गएपछि सई यादवले बियर ग्लासमा हालेर खाँदै गरको देखिन्छन् ।
त्यसअघि बियर लिएर आउने दरभँगा सिटी स्क्यानका व्यवस्थापक भनिएका आदर्श यादव प्रहरीको पोशाक अन्तर्गतको टोपी लगाएको देखिन्छन् । प्रहरीको टोपी सम्बन्धित व्यक्ति बाहेक अन्यले लगाउनु भनेको हतियार खोस्नु जस्तै मानिन्छ ।
सई यादव कुर्शीमा सुतिरहेको बेला दरभँगा सिटी स्क्यानका व्यवस्थापक आदर्श यादवले बियर लिएर आउँछन र बियर राखेर सई यादवले लगाउने प्रहरीको टोपी उनी लगाउँछन र केही बेर पोज दिएको भिडियोमा प्रष्ट हेर्न सकिन्छ ।
यसरी डयुटीकै बेला प्रहरीको बर्दि लगाएरै एक स्वास्थ्य जस्तो सँवेदनशिल क्षेत्र मानिएको सिटी स्क्यानको ल्याबमा गएर बियर खानु प्रहरीको अनुशासन विपरित मानिन्छन् ।
अनुशासनहिनताको लागि उनलाई कारवाही समेत गर्न सकिने बताइन्छ ।
यस सन्दर्भमा पत्रकार मौसम झाले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतसँग कुरा कानि गर्दा, भिडियोको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनलाई भिडियोको बारेमा भनेपछि उनले भिडियो देखेर मात्र प्रतिक्रिया दिने बताए ।
दरभँगा सिटी स्क्यानका सँचालक केदार यादवसँग सई नागेन्द्र यादवको घनिष्ठता रहेको छ । सोही कारण सई यादवले डयुटीको बेला पनि बियर खान दरभँगा सिटी स्क्यान पुग्ने गरेको बताइएको छ ।
केही महिनाअघि गत वर्षको होलीमा जनकपुरका विमानस्थलमा कार्यरत एक प्रहरी हबल्दारले बर्दिमै बियर खाएको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको थियो ।



















