११ भदौ, मकवानपुर । मकवानपुरको देउरालीमा पहिरो खस्दा हेटौंडा हुँदै काठमाडौँ जाने छोटो दुरीको मार्ग भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ ।
बिहिबारदेखि परेको अविरल वर्षाका कारण सो सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–६ देउरालीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरोका कारण दुईतर्फी नै यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वोर रिमालले जानकारी दिए ।
लगातार वर्षा भइरहेकोले पहिरो हटाउन समस्या भएको उनले बताए । वर्षा केही कम हुनासाथ पहिरो पन्छाउने कार्य सुरु गरि यातायात सन्चालन गरिने उनको भनाई छ ।
उनले सो सडक खण्डबाट हेटौंडा हुँदै काठमाडौंको यात्रामा रहेकाहरुलाई वैकल्पिक सडकको प्रयोग गर्न सुझाव दिएका छन् ।



















