५ भदौ,रौतहट । रौतहट प्रहरीले प्रहरी बिरुद्ध समाचार लेख्ने पत्रकारलाइ फसाएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले आपत्ती जनाएको छ ।
साउन ३२ गते बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट सहित पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले नै फसाएको भिडियो सिसिटिभी० फुटेज सार्वजनिक भएपछि महासंघले आपत्ति जनाएको हो । समाजिक संजालमा प्रहरीका विरुद्धमा लेखेको रिसिवी साध्न प्रहरीले रौतहटबाट संचालन हुने एकअनलाई न्यूज पोर्टलका संचालक मो। मोजिबुल्लाहलाई षडयन्त्रपूर्ण तरिकाले फसाएको हो ।
गौर नगरपालिका रोडमा रहेको एक होटेलमा खाजा खान गएका ईशनाथ नगरपालिका ८ का मो। मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट सादा पोशाकमा खटिने प्रहरी टोलिले लागुऔषध नाइट्राभेट सहित पक्राउ परेको बताएको थियो । असइ उदय यादवको नेतृत्वमा रहेको प्रहरीटोलीले होटेल बाहिर पार्किङ्ग गरि खाजा खान गएका व्यक्तिको मोटरसाइकलमा सो नाइट्राभेट राखेको भिडियोमा देखिएको छ ।
असइ उदय यादव तथा प्रहरी जवान मनोज साहले दुई युवाहरुलाई प्रयोग गरी आफ्नै निगरानी तथा प्रत्यक्ष उपस्थीतिमा सो लागु औषध मोटरसाइकलमा राख्न लगाएका हुन् । सिसिटिभीको १८ बजेर ७ मिनेटको फुटेज देखी १८ बजेर १८ मिनेको फुटेजमा प्रहरीको षडयन्त्रको पर्दाफास भएको छ । दुई युवाहरु पुगेको केही सेकेण्डमै असइ यादव र प्रहरी जवान साह होटेल बाहिर आएको र १८ बजेर १२ मिनेटमा असइ यादवले स्वयं सो मोटरसाइकलमा लागुऔषध राख्ने स्थान निश्चीत गरेको देखिएको छ ।
सिसिटिभीको १८ बजेर १८ मिनेटको दृश्यमा मोटरसाइकलमा लागुऔषध राखे पछि प्रहरी त्यहाँबाट गएको र १८ बजेर ४२ मिनेटमा होटेलबाट मोजीबुल्लाह फर्किएको देखिएको छ । प्रहरीलेनै लागुऔषध राखेर निर्दोष व्यक्तिलाई फसाएको भन्दै पत्रकार महासंघ रौतहटले गम्भीर आपत्ती जनाएको छ । प्रहरीले गरेको निन्दनीय अपराधका लागी रौतहटको प्रहरी प्रमुख देखी लिएर घटनामा संलग्न सबैलाई तत्काल निलम्बन गरी कारवाही गर्न पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले माग गरेका छन ।
प्रहरीले व्यक्तिलाई फसाएको यस घटनामा संलग्नहरुको बारेमा केन्द्रीय स्तरबाटै जाँच हुनुपर्ने पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताए । आपत्तीजनक कार्यको विरोध गर्दै प्रहरीको यस्ता किसिमका हर्कतहरुको निन्दा गर्ने उनले बताए ।
प्रहरीकै उच्च अधिकारीहरुको निर्देशनमा घुमुवाटोलीले लागुऔषध मोटरसाइकलमा राख्न लगाएर निर्दोषलाई पक्राउ गरेको श्रोतको दाबी छ । प्रहरी आफै संलग्न भएको घटनामा अनुसन्धान गर्ने भन्दै धिरज यादव तथा जितेश यादवलाई नियन्त्रणमा लिए पनि सिसिटिभीमा देखिएका असइ सहितको प्रहरी कर्मचारीलाई भने कारवाही भएको छैन । भिडियोमा देखिएका व्यक्तिहरुलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको र यस विषयमा तत्काल केही बोल्न नसकिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।