२ भदौ, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले दशैं अगाडि नै सरकार परिवर्तन हुने दाबी गरेको छ ।
विराटनगरमा पत्रकारसँगको भेटमा संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले दशैंअघि नै प्रदेश–१ को सरकार परिवर्तन भइसक्ने दाबी गरे । संसदमा अविश्वासको प्रस्ताव आउला भन्ने डरकै कारण एकाएक प्रदेश–१ को बजेट अधिवेशन अन्त्य गरिएको कार्कीले बताए । “सरकार संसददेखि डरले जति भागे पनि सरकार परिवर्तन भएरै छाड्छ,” उनले भने, “यो सरकारले संघीयता कार्यान्वयन केही काम गर्न सकेन ।
सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेर केही दिन भए पनि सत्तामा रहने बाटो खोजेको कार्कीको भनाइ छ । केही दिन सत्तामा रहेर आफूले गरेका गलत कामहरूको फाइल मिलाउन सरकारले संसदको अधिवेशन अन्त्य गरेको कार्कीको दाबी छ । प्रदेश–१ मा सरकारले नै प्रतिपक्ष जस्तो भूमिका निर्वाह गरेको उनको टिप्पणी थियो । प्रदेश–१ को चालु आर्थिक वर्षको बजेटसमेत नैतिक रुपमा फेल भएको कार्कीले बताए ।
“सरकार गठन भएको चार वर्ष लाग्दा पनि प्रदेशको नामाकरण हुन सकेको छैन,” कार्कीले भने, “मुख्यन्त्री शेरधन राईले यही अधिवेशनबाट नामाकरण गर्ने भनेर दलका नेताहरूलाई समेत वार्ताका नाममा अल्मल्याउनु भयो ।” यही अधिवेशनबाट नामाकरण हुन्छ भन्ने मुख्यमन्त्रीको थेगो मात्रै भएको कार्कीले बताए ।