हरि अधिकारी
३२ साउन। कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुआती अवस्थामा आफूलाई जोगाएँ । रिपोर्टिङमा जोखिमयुक्त ठाउँ पुगे पनि सतर्कता अपनाएको थिएँ । सँगै हिंड्ने साथीहरूलाई कोरोना पोजेटिभ देखिंदा पटक–पटक नाक घोच्नु पर्यो । गत साउन ९ गते शनिबार बिहान साथीहरूसँग चतरा हुँदै बराहक्षेत्र पुगें । बराहक्षेत्रमा घुमघाम र पूजापछि साथीहरूले भेडेटार जाऊँ भनें । गर्मी धेरै थियो । मैले जान मन गरिनँ । तर साथीहरूले कर गरेपछि मेरो केही चलेन । बिहान ९ बजे हिंडेको ७ जनाको टोली बेलुका ६ बजे विराटनगर आइपुग्यो । भोलिपल्ट बिहान स्वास्थ्यमा समस्या देखिए जस्तो भयो । खाना पकाउन अल्छी लाग्यो । होटलमा खाना खाएर अफिसको काम गर्दैथिएँ । एक्कासी छाती दुखाइ शुरू भयो । टाउको पनि दुख्यो । भित्री ज्वरो आयो ।
छाती दुखेपछि कोरोना हो कि भन्ने शंका लाग्यो । घडी हेरें । दिउँसो ३ बजिसकेको रहेछ । महानगरको पीसीआर कलेक्सन बन्द भइसकेको थियो । छाती दुखाइ बढेपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा साथी प्रकाश कार्कीलाई सम्पर्क गरें । दिउँसो साढे ३ बजे पीसीआरका लागि स्वाब दिएँ । साउन ११ गते सोमबार बिहान खबर आयो– ‘रिपोर्ट पोजेटिभ छ, सिटी भ्यालु २० ।’
सोमबार बिहान समस्या बढेको थियो । ज्वरो थियो । टाउको दुख्ने, सास फेर्न अलिक गाह्रो होला कि जस्तो लाग्यो । पोजेटिभ रिपोर्ट आएपछि झन् गाह्रो भएको अनुभूति भयो ।
५–७ मिनेटपछि केही सहज भयो । ओछ्यानमा डायरी थियो । केही भइहाले परिवारले थाहा पाउनुपर्छ भनेर बैंक खाता, मोबाइल एपको पिनकोड र आइडी पासवर्ड लेखें । आफूले तिर्नुपर्ने ऋण पनि लेखें ।
अघिल्लो लकडाउन यता बसाइ एक्लै छ । पोजेटिभ रिपोर्ट आएपछि डेरा छेउमा बस्ने भाइलाई ज्वरो र खोकीको औषधि किन्न पठाएँ । ज्वरो नाप्ने थर्मोमिटर र अक्सिजन नाप्ने अक्सिमिटर किन्नका लागि किशोर बुढाथोकी दाइलाई लगाएँ ।
औषधि र अति आवश्यक स्वास्थ्य उपकरण भएपछि कोरोना सहजै जितिन्छ भन्ने आत्मविश्वास थियो । कोरोना त जितें तर सोचे जस्तो सहज भएन । औषधिले काम गरेन । भेरोसेल खोपको एक डोज लगाएको थिएँ । तर रोगले च्याप्दै लग्यो । सोमबार बेलुकाबाट सास बढ्ने समस्या देखियो ।
कोशी अस्पतालका फिजिसियन डाक्टर डेनप्रसाद आचार्यलाई सम्पर्क गरें । उहाँले औषधिको लिष्ट म्यासेज गर्दिनुभयो । अक्सिजन लेभल नर्मल भएका कारण आत्तिनुपर्ने अवस्था छैन भन्नुभयो । मंगलबार दिउँसो भेट्ने सल्लाह भयो । मंगलबार दिउँसो एक्स–रे गरेर हेर्दा छातीमा समस्या देखिएन । अलिक साहस पलायो । डाक्टरले औषधि लेखिदिएपछि औषधि लिएर डेरा फर्किएँ ।
मंगलबार लेखिदिएको औषधिले भोलिपल्ट बिहानसम्म काम गर्यो । बुधबार दिउँसोबाट ज्वरो बढ्यो । श्वासप्रश्वासमा समस्याका कारण बोल्न गाह्रो हुन थाल्यो । फोन बजिरह्यो । तर उठाउन सक्ने साहस आएन । बेलुका घरबेटी आन्टीले रोटी तरकारी ल्याइदिनुभयो । त्यही खाएर सुतें ।
औषधि खाएपछि ९ बजेतिर निद्रा लाग्यो । सुत्नुअघि अक्सिमिटरले अक्सिजन लेभल नापें । ९८ प्रतिशत देखायो । ढुक्कले निदाएको थिएँ राति झसङ्ग ब्यूँझिएँ । मोबाइलमा हेरें साढे १२ बजेको रहेछ । मध्यरातमा जीउ दुखाइका कारण ब्यूँझिएको रहेछु । ज्वरो पनि १०२ डिग्री थियो । सास फेर्न पनि गाह्रो भयो । सिरानी छेउबाट अक्सिमिटर औंलामा लगाउँदा होश उड्यो । अक्सिजन लेभल ८० भन्दा कम थियो । हतार–हतार घोप्टो परेर लामो लामो सास लिएँ । हातको अक्सिमिटरको पारो बढ्दै गयो । लामो सास लिदा अब दिन पुगेछ जस्तो लाग्यो । १५–२० मिनेट लामो सास लिएपछि अक्सिजन लेभल ९९ पुग्यो । अब साहस बढ्यो । साढे १२ बजे ब्यूँझिएर अक्सिजन लेभल बढाएपछि कतिबेला निदाएँ थाहा पाइनँ । ब्यूँझँदा बिहानको ७ बजेको रहेछ । सोचें आजको दिन बाँचिएछ । बाँचेकोमा खुशी भएँ । तर शरीरको पीडा भने उस्तै थियो ।
पीडा त आमाका अगाडि दुःख लुकाउँदा झन् बढ्दो रहेछ । कोरोनाले शरीर गलेका बेला घरबाट ममीले बारम्बार फोन गरिरहनुभयो । सुधार हुँदैछ भन्दै पीडा लुकाउने प्रयास गरें । अब चाहिं सक्दिनँ भन्ने भएपछि बिहीबार बहिनी कमलालाई बोलाएँ । साथी तुलसाको डेरामा बसेर उसले खाना पकाएर दिई । बहिनी आएपछि घरमा ममीलाई अलिक सन्तोष भयो ।
कोरोना पोजेटिभ देखिएपछि डाक्टर डेनप्रसाद आचार्यसँग सम्पर्कमा थिएँ । समस्या पर्दा मैले सम्पर्क गरें । कहिलेकाहीं उहाँले म्यासेज, फोन गरेर स्वास्थ्य अवस्था बुझिरहनुभयो । ज्वरोको औषधिले काम गर्न छाडेपछि शुक्रबार डाक्टर आचार्यले फेरि बोलाउनुभयो । छाती दुखेका कारण एक्स–रे गरें । एक्स–रे गर्दा निमोनिया देखियो । शुरुआती अवस्था छ भन्दै डाक्टर आचार्यले औषधि लेखिदिनुभयो । औषधि लिएर डेरा आएँ । कमजोरीका कारण डाक्टरको क्लिनिकसम्म पुगेर कोठा आउन धेरै मुश्किल पर्यो । आइतबार कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार तौल नाप्दा पाँच केजी घटेको रहेछ ।
निमोनिया देखिएपछि अलिक डर लाग्यो । कोरोनाकै कारण चिनेजानेका केही साथी गुमाएको थिएँ । निमोनिया देखिएपछि पालो मेरो आएछ कि जस्तो लाग्यो । नियमित सम्पर्कमा रहेका साथीहरूलाई निमोनिया देखिएको जानकारी गराएँ । मेरो चाहना ममीको कानमा निमोनिया भएको खबर नपुगोस् भन्ने थियो । हेरचाह गर्न बसेकी बहिनीलाई पनि सुनाइनँ । एक दिन लुकाएँ, भोलिपल्ट साथीले ममीलाई सुनाइदिएछन् । घरबाट आत्तिएर फोन आयो । होइन भन्दै टार्ने प्रयास गरें । तर आमालाई कुरा लुकाउन गाह्रो भयो ।
निमोनिया देखिएपछि बोल्दा सास बढ्ने, अक्सिजन लेभल घट्ने समस्या भयो । खाना लिएर आउने बहिनी र साथीले बोलाउँदा मुन्टो हल्लाएर जवाफ दिन्थें ।
ज्वरोको औषधिले काम नगरेपछि डाक्टरले एकै पटक दुई वटाका दरले ६ घण्टाको अन्तरमा खान सल्लाह दिनुभएको थियो । औषधि खाएको ३–४ घण्टा काम गथ्र्यो । त्यसपछि उस्तै पीडा । सामाजिक सञ्जालमा कोरोना संक्रमितले जीउ छाडेको, हातखुट्टा फालेको भिडियो देख्दा इडिट गरेको हो कि जस्तो लाग्थ्यो । तर पीडा हुँदा जीउ हातखुट्टा फ्यालिंदो रहेछ । आफैंले अनुभूति गरेपछि मात्रै थाहा भयो ।
कोरोना संक्रमणपछि हरेक बिहान उठ्न पाएकोमा खुशी मनाउँदैछु । म त तङ्ग्रिएर काममा फर्किएँ तर फेरि कोरोनाको ग्राफ उकालो लाग्दैछ । सतर्क रहने, जोगिने तपाईं–हामी आफैंले हो ।
शनिबारको दिन दुखाइ र पीडामा कट्यो । बेलुका बहिनीले ल्याइदिएको खाना खाएर सुतें । राति १ बजे झसङ्ग ब्यूँझिए । सास फेर्न गाह्रो भएको थियो । अक्सिजन लेभल नाप्दा ७६ देखायो । हतार–हतार घोप्टो परेर लामो लामो सास लिन खोजें तर सास बढेर गाह्रो भयो । ज्वरो थिएन । तर जीउ दुखाइ अत्यधिक थियो । निमोनिया भएका कारण अब दिन पुगेछ जस्तो लाग्यो । थोर बहुत अध्यात्म लाइनमा थिएँ । मृत्युसँग त्यति डर थिएन । तर जीवनमा अझै धेरै गर्न चाहिं बाँकी नै छ भन्ने लाग्यो । अक्सिजन लेभल बढाउन घोप्टो परेर लामो सास लिइरहें । तर अक्सिमिटरको मिटर उकालो लागेन । अस्पताल जानका लागि साथीहरूलाई भनौं कि भनेर सम्झिएँ । तर रातको साढे १ बजे किन अरूको निद्रा बिच्काउनु जस्तो लाग्यो ।
अक्सिमिटर निकालेर घोप्टो परेर योगगुरु रामदेवले सिकाएको योग अभ्यास गर्ने प्रयास गरें । ५–७ मिनेट गरेपछि केही सहज भयो । ओछ्यानमा डायरी थियो । केही भइहाले परिवारले थाहा पाउनुपर्छ भनेर बैंक खाता, मोबाइल एपको पिनकोड र आइडी पासवर्ड लेखें । आफूले तिर्नुपर्ने ऋण पनि लेखें । उठेर ढोकाको चुक्कुल पनि खोलें । जीवन बीमा प्रिमियर तिर्न ढिलो भएको थियो । प्रिमियर समयमा नै नबुझाएकोमा पछुतो लाग्यो ।
घोप्टो परेर सुत्ने प्रयास गरें । बिहान साढे ५ बजे ब्यूँझिएछु । दायाँ–बायाँ हेरे । सकुशल नै छु । सकी–नसकी उठेर ऐना हेरें, रातिको पीडा सम्झिएँ । आजको दिन बाँचियो भन्ने लाग्यो । मध्यरातमा अनेकन् पीडा भएपछि साथीभाइ र आफन्तलाई सुनाइनँ । श्वास–प्रश्वासको समस्या अस्पताल जानुपर्ने खालको थियो । तर अस्पतालहरूमा बिरामी भरिएका कारण कोठामै बस्ने साहस गरें । कोरोनालाई जित्ने अचूक औषधि आत्मबल हो भन्ने थाहा थियो । शायद त्यही आत्मबलले घटेको अक्सिजन लेभल बढाएर ज्यान बचायो ।
खानाको स्वाद थिएन । तर खानपानमा जोडबल गरें । बहिनीले तागतिलो खानेकुरा दिनमा चारपटकसम्म बनाएर ल्याइन् । जोडबल गरेर खाएँ । डाक्टरले दिएका औषधि बाहेक घरबेटी आन्टीले निमोनियाको घरेलु औषधि बनाइदिरहनुभयो ।
साउन ११ गतेबाट ज्यानले औधी दुःख पाएको थियो । १७ साउनबाट हलुका भए जस्तो लाग्यो । छाती दुखाइ थियो । ज्वरो अलिक कम भयो । बिस्तारै सुधार हुन थाल्यो । अब बाँच्छु जस्तो लाग्यो । आइसोलेसनमा बस्दा डाक्टर योगी विकासानान्द, ओशो र सद्गुरुको प्रवचन सुनेर दिन कटाएँ । पढ्नका लागि किताब ल्याएको थिएँ । तर टाउको दुखेर धेरै समय किताबमा बिताउन सकिनँ ।
साउन २२ गते शुक्रबार पीसीआर गरें । रिपोर्ट पोजेटिभ नै आयो । तर सिटी भ्यालु ३० थियो । डाक्टर र प्रयोगशालाका साथी प्रकाश कार्कीसँग सल्लाह गरेर घर गएँ । घरको एकसाता लामो बसाइपछि ज्यानमा ऊर्जा भरियो । तर अलिक हिंड्दा सास बढ्ने समस्या अझै छ ।
म त तङ्ग्रिएर काममा फर्किएँ तर फेरि कोरोनाको ग्राफ उकालो लाग्दैछ । कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पतालहरू भरिएका छन् । पीसीआर गर्न आउनेहरूको लाइन पनि बढ्दो छ । २२ गते शुक्रबार प्रदेश प्रयोगशालाको प्राविधिक प्रकाश कार्की भन्दै हुनुहुन्थ्यो ‘एन्टिजेन परीक्षणले पीसीआर गर्न आउनको संख्या अलिक कम छ तर संक्रमण पहिले जस्तै छ । बजारमा सतर्कता छैन ।’
मैले त जसोतसो कोरोनालाई जितें । सतर्क रहने, जोगिने तपाईं–हामी आफैंले हो ।
केही समयअघि डाक्टर योगी विकासानन्दले आफ्नो प्रवचनमा भनेका थिए– ‘विश्वमा राति सुतेका मध्ये दुई लाख भन्दा बढी मान्छे उठ्दैनन् । तपाईं उठ्नुभयो । उठेकोमा खुशी मनाउनुहोस् ।’ कोरोना संक्रमणपछि हरेक बिहान उठ्न पाएकोमा खुशी मनाउँदैछु ।