चलाउन जान्ने दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर उपयोगविहीन


२३ साउन स्याङ्जा । स्याङ्जा जिल्ला अस्पतालमा अहिलेसम्म आईसीयू सञ्चालनमा आएको छैन। ४ वटा भेन्टिलेटर स्टोर कक्षमै थन्किएको छ।

चलाउन जान्ने दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर उपयोगविहीन भई स्टोरमै थन्क्याउनु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रमेश आचार्यले बताए। उनका अनुसार यो चलाउन एनेस्थयोलोजिस्ट र तालिमप्राप्त नर्स चाहिन्छन्। ‘कृत्रिम श्वास दिन प्रयोग गरिने भेन्टिलेटर चलाउने प्राविधिकको काम अत्यन्त संवेदनशील हुन्छ, यसमा विज्ञ जनशक्तिको आवश्यक पर्छ,’ आचार्यले भने।

जिल्ला संकट व्यवस्थापन समितिले अस्पतालमा १० शय्याको आइसोलेसन बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए। सोहीबमोजिम अस्पतालमा आइसोलेसन कक्षको तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ। पुतलीबजार नगरपालिका ३ मा स्थापित जिल्ला अस्पताल स्याङ्जालाई गण्डकी प्रदेश सरकारले भेन्टिलेटर उपलब्ध गराएको हो।

गोरखा अस्पतालमा एक वर्षअघिको जेठ २५ गते दुइटा बेडमा भेन्टिलेटर जडान गरियो तर कोरोना संक्रमण फैलिएको यत्तिका समय भइसक्दा पनि अहिलेसम्म आईसीयू सञ्चालन गरिएको छैन। आईसीयूमा राख्नुपर्ने बिरामीलाई अन्य जिल्लामा रिफर गर्ने गरिएको छ। अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार आईसीयूभन्दा केही कम सेवाको एचडीयू प्रयोग गरिएको छ।

नयाँ भवन बन्ने क्रममा रहेकाले अस्पताल अहिले डाक्टरको क्वाटरमा चलिरहेको छ, जहाँ आईसीयूका लागि उपयुक्त कोठा छैनन्। आईसीयूका लागि फिजिसियन, एनेस्थेसिया, तालिमप्राप्त नर्स छैनन्। एबिजी मेसिन छैन। कुनै बेला बिरामीले सिटामोल पनि नपाउने कर्णालीमा कोरोना महामारी सुरु भएपछि आईसीयू र भेन्टिलेटरलगायत उपकरण भने ल्याइयो। तर, दक्ष जनशक्तिको अभावमा आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन्।

कर्णाली प्रदेशभर हाल ९४ बेड आईसीयू र ३५ बेड भेन्टिलेटर उपलब्ध छन्। त्यसमा कोरोना संक्रमितको उपचारका लागि ६३ बेड आईसीयू र ३७ बेड भेन्टिलेटर छुट्ट्याइएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा शाखा अधिकृत नवराज कँडेलका अनुसार हाल डोल्पामा दुई, कालिकोटमा आठ, दैलेखमा पाँच, जाजरकोटमा पाँच, रुकुमपश्चिममा चार र सल्यानमा दुइटा आईसीयू बेड कोरोना उपचारका लागि व्यवस्थापन गरिएको छ। त्यस्तै प्रदेश अस्पताल सुर्खेतमा २५ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२ आईसीयू बेड कोरोना उपचारका लागि सञ्चालनमा छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको