शिशुहरुलाई आमाको दूध नै पहिलो खोप


१८ साउन, काठमाडौं । विशेषज्ञले शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने भन्दै आमाको दूध नै पहिलो खोप भएको बताएका छन् ।

शिशू जन्मनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुहरुको नैसर्गिक अधिकार भएको भन्दै उनीहरूले शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा पर्याप्त हुने बताएका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व स्तनपान सप्ताह २०७८ को अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोषण शाखा प्रमुख केदार पराजुलीले शिशु जन्मेको ६ महिना पूरा भएपछि पोषिलो थप खानाका साथसाथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनुपर्ने बताए ।

पोषण शाखा प्रमुख पराजुलीले भने, ‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । आमाको दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुन्छ । त्यो बट्टाको दूधमा पाइँदैन ।’ उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको प्रवद्र्धन गर्न नहुने बताए ।

नेपाल मल्टिइन्डिकेटर क्लस्टर सर्वे २०१९ अनुसार नेपालमा शिशु जन्मेको १ घण्टाभित्रै स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत रहेको छ । यस्तै, पूर्णस्तनपान गराउनेको संख्या ६२ प्रतिशत रहेको छ । सर्वेक्षणअनुसार दुई वर्षसम्म स्तनपान गराउनेको संख्या ८७।६ प्रतिशत रहेको छ ।

– प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिने
– आमाको दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व

बट्टाको दूध सेवन गर्ने शिशुमा रोगसँग लड्ने क्षमतामा कमी हुँदै भविष्यमा मोटोपना, मधुमेहलगायतका रोग लाग्न सक्ने अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ को तथ्यांकअनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत र शिशु जन्मेको एक घन्टाभित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ ।

यस्तै, शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ८९ प्रतिशत रहेको छ । नेपालमा शिशु जन्मेदेखि एक महिनासम्म आमाको दूध मात्र खुवाउनेको संख्या ८० प्रतिशत रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यद्यपि शिशु दुईदेखि तीन महिनासम्मको हुँदा आमाको दूध मात्र खुवाउनेको संख्या घटेर ७२ प्रतिशत मात्र रहेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका बालरोग विशेषज्ञ डा।कृष्ण पौडेलले शिशुलाई आमाको दूध नै पहिलो खोप रहेको बताए । डा।पौडेलले भने, ‘आमाको स्वास्थ्यका लागि पनि स्तनपान प्रभावकारी मानिन्छ । शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपान गराउनुपर्छ ।’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले अस्पतालमा स्तनपानलाई प्रवद्र्धन गर्ने कार्य भइरहेको बताए । उनले भने, ‘स्तनपानको महत्वबारेमा ग्रामीण तहका जनतालाई समेत उजागर गराउनुपर्छ ।

स्तनपानलाई प्रवद्र्धन गर्न मातृ शिशुमैत्री अस्पतालका रूपमा विकास गर्ने अभियान पनि विस्तार भइरहेको छ ।’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा।तारानाथ पोखरेलले स्तनपानलाई संरक्षण र प्रवद्र्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको बताए ।

स्तनपान सप्ताहको अवसरमा सरकारले ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्ने जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदारराज पराजुलीले थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको बताए । पोषण शाखा प्रमुख केदारराज पराजुलीले भने, ‘प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न ‘ह्युमन मिल्क बैंक’ स्थापना गर्न लागिएको छ ।

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने हुन्छ । शाखाले ह्युमन मिल्क बैंकमा दूध राख्नका लागि करिब १ करोड रुपैयाँ लागतमा मेसिन खरिद गर्ने तयारी थालेको जनाएको छ ।

आमाको दूध तत्काल नआउने वा कमी हुने बच्चाका लागि सो बैंकमा राखिएको दूधको व्यवस्था गरिने योजना छ । स्तनपान संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्ताह मनाउँदै आइएको छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ९बिक्री वितरण नियन्त्रण० ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानको कार्यान्वयन गरी स्तनपानलाई संरक्षण र सम्वद्र्धन गर्ने कार्य हुँदै आएको छ ।

सरकारले यो वर्ष ‘ हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ । परिवार कल्याण महाशाखाले स्तनपान सप्ताहको अवसरमा मातृ शिशुमैत्री अस्पताल कार्यक्रम लागू भएका अस्पतालसँग छलफल गर्ने, स्तनपानबारे बृहत वेभिनार, समुदाय तथा बर्थिङ सेन्टरमा स्तनपानबारे अनुगमन गर्ने लगायतका योजना बनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको