१७ साउन, विरगञ्चं । जीवित बिरामीलाई मृत घोषणा गरेको भन्दै वीरगञ्जको एक हस्पिटलमा तोडफोड गरिएको छ।
वीरगञ्जको लिंकरोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा बिरामीका आफन्तजनले आइतबार दिउँसो तोडफोड साथैचिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन्।
वीरगञ्ज उपमहानगरपालिका २० की ३२ वर्षीया मुटु रोगी रमितादेवीलाई जीवितमै मृत घोषणा गरेको भन्दै अस्पतालको इमरजेन्सी कक्षमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो।
कुटपिटबाट डा। विजय महतो र अस्पतालकी नर्स बबिता चौधरी घाइते भएको अस्पताल प्रमुख रामराज श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। त्यस्तै सिसा फुटाउँदा लागेर रौतहटको मौलापुर नगरपालिका ४ की बिरामी २७ वर्षीया सुमिता देवी घाइते भएकी छन्।
तोडफोडको क्रममा केहिबेर प्रहरीसँग प्रदर्शनकारीको घम्साघम्सी समेत भएको छ। प्रहरीले तोडफोडमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम राम रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिए। अस्पतालको जाहेरीको आधारमा उनीहरूमाथि मुद्दा दायर गरेर कारबाही गर्ने खनालले नेपालखबरलाई बताए।
अस्पताल प्रमुख श्रेष्ठका अनुसार रमिता देवीलाई बिहान साढे ९ बजेतिर अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो। चिकित्सकले मृत घोषणा गरेर पठाउँदा शव दाहसंस्कारको लागि लगिएको थियो।
मुखमा भात देखेपछि जीवितै छ भनेर पुनः आफन्त र मलामीहरु दिउँसो २ बजेतिर मृतक रमिताको शव बोकेर आएका थिए। पुनः चेकजाँच गर्दा उनी मृत नै रहेको अस्पतालको दाबी छ।
त्यसपछि आफन्त र मलामीहरूले हस्पिटलमा होहल्ला, तोडफोड र कुटपिट गरेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।