
१७ साउन, सिरहा । लहान नगरपालिकामा कोरोनाविरुद्धको खोप मापदण्ड विपरित लगाउने गरेको पाइएको छ ।
लहान नगरपालिका ७ का गिरिजा प्रसाद शर्मा २१ वर्षका छन् । तर लहान ७ स्थित हेल्थ पोष्टले उनको ‘खोप कार्ड’को उमेरमा ४६ वर्ष उल्लेख गरेको छ । खोप दिनकै लागि उनको उमेर स्वास्थ्यकर्मीले २५ वर्ष बढाएका हुन् ।
काठमाडौं अध्ययनरत गिरिजालाई खोप लगाइदिन बुवा रामऔतार शर्माले पटक पटक वडाध्यक्ष राकेश गुप्ता ‘रोषण’लाई आग्रह गरेका थिए । वडाध्यक्षले ५० वर्ष माथिका व्यक्तिलाई मात्र अहिले खोप दिने गरेको भन्दै उनलाई फर्काएका थिए ।
पछि नगर स्वास्थ्य संयोजक रामसुन्दर यादवसँग छोरालाई खोप लगाइदिन रामऔतारले आग्रह गरे । उनी भन्छन्, ‘छोरालाई खोप लगाइदिन आग्रह गरेपछि संयोजकले हेल्थ पोष्टमा भनिदिन्छु, त्यहाँ जानुस् भन्नुभयो । हेल्थ पोष्ट पुगेपछि छोराको उमेर बढाएर स्वास्थ्यकर्मीले खोप लगाइदियो ।’ उनको भनाई अनुसार स्वास्थ्य संयोजक यादवले बदमासी गरेका छन् ।
यता, स्वास्थ्य संयोजक यादवले उमेर बढाएर एकजनालाई खोप दिएको कुरा आएको छ तर त्यसमा आफू दोषी नभएको दावी गरे । उनले भने, ‘रामऔतार शर्माले धेरै पटक फोनमार्फत छोरालाई खोप लगाइदिन भनेको थियो । म पटक पटक अस्वीकार गरेको थिए । हेल्थ पोष्टमा कसरी खोप लगायो बुझ्न त्यहाँका इन्चार्जलाई भनेको छु ।’
२१ वर्षका व्यक्तिलाई ४६ वर्षको बनाएर खोप लगाइदिएको घटना सार्वजनिक भएपछि वडाध्यक्ष गुप्ता तनावमा परेका छन् । वडाबासीको फोनले मानसिक तनावमा परेको उनले बताए । मोवाइल स्वीच अफ गर्नुपरेको भन्दै उनले खोप वितरणमा भइरहेको लापरबाही रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको बताए ।
वडाध्यक्ष गुप्ता भन्छन्, ‘खोप मापदण्ड अनुसार लगाउनुपर्यो । होइन् भने जो आउँछन्, सबैलाई दिनुपर्यो ।’ हामी जनप्रतिनिधहरु फेयर तरिकाले काम गर्न खोज्दा पनि स्वास्थ्यकर्मीको बदमासीले तनावमा परेको उनको भनाई छ ।