
१६ साउन, जनकपुरधाम । लक्ष्मिीनियाँ गाँउपालिकाको एक व्यक्ती जिल्ला प्रहरी कार्यालयको थुनुवाकक्ष भित्रै मृत भेटिएपछि गाँउवासी आक्रोसित बन्दै गएका छन् ।
शुक्रबार बिहान हिरासतको शौचालयमा पासो लगाई आत्महत्या गरेको अवस्थामा लक्ष्मिीनियाँ गाउँपालिका वडा नं २ का ४० वर्षीय पल्टु रविदास भेटेपछि दिनभर जनकपुरधाममा प्रदर्शन गरेका मृतकका गाँउवासीहरु आज लक्ष्मिीनियाँ बजार स्थित जनकपुरधाम ढल्केवर राजमार्ग अवरुद्व गर्दै प्रदर्शन गरेका छन् ।
थुनाकक्षको शौचालयको भेन्टिलेशनमा आफैले लगाएको गन्जीमा पासो लगाएर झुन्डिएर मृत भेटिएको र उनले आत्महत्या गरेको हुनुपर्ने धनुषा प्रहरीको भनाई छ भने प्रहरी हिरासतमै मान्छेको ज्यान जाने हो भने सुरक्षित कहाँ रहने रु भन्दै पिडित पक्षले प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय देखि सिडिओ कार्यालय सम्म प्रदर्शन र होहल्ला गर्नुका साथै अव स्थानिय स्तरमै आन्दोलन थालेका छन् ।
आफ्नै भाई विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा पक्राउ परेका पल्टु माथी दुई लाख धरौटीको आर्थिक अभाव वा जेल जानु पर्ने भएपछि डर भयका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम तिर्न नसकेको कारण उनलाई थुनामा राख्न सिन्धुली कारागार पठाउन आदेश दिएको भएको थियो ।
उनलाई कारागारमा बुझाउने प्रयोजनको लागि हिरासतमा राखिएकै अवस्थामा उनले आफ्नै गन्जीको पासो बनाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ ।