!) ;fpg, sf7df8f}+ . कोरोना संक्रमण कम भएसँगै मुलुकभर निषेधाज्ञा खुकुलो बनाइयो। सार्वजनिक यातायात खुला गरियो र भीडभाड हुने क्षेत्रमा जनजीवन सामान्यजस्तै हुन थाल्यो। मानिसहरु बेपर्वाह हिड्न थाले। यहीकारण केही दिनयता कोरोना संक्रमण दर फेरि उकालो लाग्न थालेको छ।
केही समयदेखि तेस्रो लहरको चेतावनी दिँदै आइरहेका स्वास्थ्यका अधिकारीहरु यसबाट झस्किएका छन्। यहीकारण केही दिनअघि मात्रै स्वास्थ्य मन्त्रालयले देशभरका स्वास्थ्य निकायलाई निर्देशन दिँदै भन्यो–तेस्रो लहरको तयारीमा जुट्नू।
के छ अवस्था
संक्रमण दर २० प्रतिशतभन्दा नघटेकै अवस्थामा सार्वजनिक क्षेत्र खुला गरियो। रोकिएका परीक्षाहरु भौतिक उपस्थितिमै सुरु भए। राजनीतिक जुलुस आयोजना हुन थाले र खेल गतिविधि पनि सुरु भए। संक्रमण दर स्थिर रहँदा भएका यस्ता गतिविधिले पुनः संक्रमण दर तीव्र रुपमा बढ्ने आशंका स्वास्थ्यका अधिकारीहरुको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीका अनुसार पछिल्लो केही दिनको तथ्यांक हेर्ने हो भने कोरोनाको संक्रमणको दर निकै उकालो लागेको अवस्था रहेको छ ।
‘कोरोना संक्रमण जति घट्नुपर्ने हो, त्यसअनुसार घटेन,’ अधिकारी भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण बढ्दै गयो।’
दैनिक संक्रमण १ हजार ८०० मा झरे पनि अहिले त्यो बढेर ३ हजारभन्दा माथि पुगेको छ। साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा २ हजार ९३६ मा संक्रमण देखिएकामा शनिबार साउन ९ गतेसम्म आइपुग्दा ३ हजार १ सय १४ जना पुगेका छन्।
यस्तै साउन २ गते १० हजार ६६ परीक्षण हुँदा १ हजार ८७५, ३ गते ९ हजार ६२८ परीक्षण गर्दा १ हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा २ हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा ३ हजार १०८ र साउन ६ गते २ हजार ८३८ जना संक्रमित भएका छन्।
यस्तै, साउन ७ गते २ हजार ७ सय १४ र साउन ८ गते २ हजार ९ सय ७७ संक्रमित थपिएका छन्।
कस्तो छ तयारी?
अघिल्लो साताको तुलनामा सक्रिय संक्रमित धेरै भएका जिल्लाको संख्या बढेपछि स्वास्थ्य मन्त्रालयले पनि आफ्नो तयारीलाई बढाएको छ भने जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गर्दै आएको छ।
‘सम्भावित तेस्रो लहरको चुनौतीलाई हेरेर अक्सिजनलगायतका पूर्वाधारहरु थप गर्नेतिर समन्वय गरिरहेका छौं,’ सहप्रवक्ता अधिकारीले भने।
पहिलो लहरमा देशभर अक्सिजन सिलिण्डर ६ हजारको हाराहारीमा थियो। दोस्रो लहरका बेला तत्काल अक्सिजन चाहिने बिरामीको संख्या ह्वात्तै बढ्यो। जसले गर्दा देशभर अक्सिजनको चरम अभाव देखियो। त्यसैबीच, सरकारले विभिन्न देशसँग अनुदानमार्फत् सिलिण्डर मगायो। देशभरका उद्योगहरुमा भएका सिलिण्डर जम्मा गर्ने अभियान चलाइयो। विभिन्न देशमा रहेका नेपालीहरुले सिलिण्डर नेपाल पठाउने अभियान नै चलाए।
यसका साथै अक्सिजन प्लान्ट स्थापना गर्ने क्रम पनि बढ्यो। पहिलो लहरका बेला ३० को संख्यामा रहेको अक्सिजन प्लान्ट हालसम्म आउँदा करिब ४ दर्जनको हाराहारीमा छ।
मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार अहिले पनि केही अस्पतालले अक्सिजन प्लान्ट जडान गर्ने क्रम जारी छ।
‘वीर अस्पताललाई युनिफाइड कोभिड अस्पताल बनाएर काम सुरु गरिएको छ भने सरकारी मात्र नभई निजी अस्पताललाई पनि कसरी प्रयोग गर्ने भनेर काम गर्ने गरी योजना बनाएका छौं,’ उनी भन्छन्।
कोरोनाले उग्र रुप लिएको अवस्थामा स्वास्थ्यकर्मीहरु करारमा लिएर काम लगाउन मन्त्रालयले निर्देशन दिइसकेको छ। सहप्रवक्ता अधिकारीका अनुसार दोस्रो लहरमा करारमा लिएकाहरुलाई तेस्रो लहरका बेला पनि प्रयोग गर्न सक्ने गरी व्यवस्थापन गर्न अस्पतालहरुलाई निर्देशन दिइएको छ।
यस्तै, आईसोलेसन सेन्टर तथा क्वारेन्टाईन केही अस्थायी बनाइएका र केहीलाई स्थायी रुपमै हुने गरी संरचना तयार पारिएको मन्त्रालयको भनाइ छ। ‘भोलिका दिनमा व्यवस्थापन गर्दै जान्छौं। संक्रमित कति हुन्छन्, त्यसैअनुसार तीन वटै तहसँग समन्वय गर्दै जान्छौं,’ उनले भने।