७ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने भएको छ । गत शुक्रबार र शनिबार पदाधिकारी बैठक प्रधानमन्त्री निवासमा राखेपछि पार्टीभित्रैबाट पनि आलोचना भएपछि कांग्रेसले पदाधिकारी बैठक अबदेखि पार्टी कार्यालय सानेपा वा सभापतिको निजी निवास बूढानिलकण्ठमा गर्ने भएको हो ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अबदेखि पार्टी बैठक बालुवाटारमा नहुने जानकारी दिएका छन् । उनले भने, ‘विगतको गलत परम्परालाई तोड्दै अब देखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने । सोही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व–पदाधिकारिको बैठक बुढानिलकण्ठमा बस्दैछ ।’